चीनबाट एक सय ७० वटा भेडा च्यांग्रा भित्रिए, मासुकाे मूल्य महंगिने

पाेखरा न्यूज । चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडा च्यांग्रा नेपाल भित्रिएका छन् । दशैँ नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडा च्यांग्रा नेपाल भित्रिएका हुन् ।

बिहीबार चीनबाट एक सय ७० वटा भेडा च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले जानकारी दिनुभएकाे छ । दुई सय भेडा च्यांग्राको माग गरिए पनि थोरै संख्यामा नेपाल भित्रिएको उहाँले बताउनु भयाे । ‘चीनतर्फ सम्पर्क राखेर भेडा च्यांग्रा ल्याइदिन माग गरेका थियौँ, रसुवागढी नाकासम्म उतैबाट ल्याइदिनुभयो, भेडा च्यांग्राको शुक्रबार भन्सार गछौँ, उहाँले भन्नुभएकाे छ ।’

विगतका वर्षभन्दा यो वर्ष भेडा च्यांग्राको मूल्य महंगाे परेकाे न्यौपानेले बताउनु भयाे । गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सय सम्म बढी मूल्य परेको उहाँले बताउनु भयाे । नेपाल भित्रिएको प्रतिभेडा च्यांग्राको मूल्य २८ हजारदेखि ३२ हजारसम्म मूल्य पर्ने उहाँकाे भनाइ छ । ‘गतवर्ष भन्दा यो वर्ष महंगो परेको छ, पहिला १२-१३ सय प्रतिकिलो पर्थ्याे भने अहिले १७-१८ सय पर्ने देखिएको छ, उहाँले भन्नुभयाे ।’

चीनबाट यो बाहेक अरू भेडा च्यांग्रा नआउने उहाँले बताउनु भयाे । ‘नाका बन्द छ, पहिला जस्तो हामी आफै जान पाएका छैनौँ, फोन सम्पर्कको भरमा निकासी गर्नुपरेको छ,’ उहाँले भन्नुभयाे, ‘माग गरिएका अन्य सामान त आएको छैन् भने यो ल्याउन पनि धेरै समस्या भयो ।’ तिब्बतबाट प्रत्येक वर्ष भेडा च्यांग्रा आयात हुँदै आएको छ ।

सुरुमा प्रतिभेडा तथा च्यांग्रा सात सय रुपैयाँमा आउने गरेकाेमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको छ । कोभिड-१९ सुरु हुनुपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्यांग्रा आयात गर्ने गरेका थिए । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका थिए । नेपाली व्यापारी भेडा च्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए ।

पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएकाले आयातमा कमि आएकाे व्यापारी बताउँछन् । २०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा चार सय ७० वटा, २०७६ मा दुई सय ९० वटा भेडा च्यांग्रा आयात भएको तथ्या‌ंक छ । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा च्यांग्रा आयात हुने गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button