दुई अर्ब लागतमा पोखरामा केबलकार निर्माण सम्पन्न, छिटै सञ्चालनमा आउँदै

पोखरा न्यूज । पोखरामा छिट्टै नयाँ पर्यटकीय गन्तव्यका रूपमा केबलकार सञ्चालनमा आउने भएको छ । पोखराका एक महत्त्वपूर्ण पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आउन लागेको हो ।

साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय,सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई जोड्ने गरी पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको केबलकार ढिलोमा अबको ३ महिना भित्रमा सञ्चालनमा ल्याइने भएको अन्नपूर्ण केबलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो ।

‘हामीले आज मात्र जापनिज प्राविधिकसँग कुराकानी गरेका छौँ उहाँहरूलाई आवश्यक रकम पठाएर छिट्टै नै पोखरा झिकाउन लागेका छौँ’ , त्रिपाठीले भन्नुभयो, ‘स – साना प्राविधिक कार्यहरू भइरहेको भए पनि स्टेसनसँगै तार टाँग्ने र केबलकारका डिब्बा (गुण्डला) राख्ने लगायतका मुख्य कार्य सबै सकिएको छ, उहाँहरू पोखरा आएर प्राविधिक परीक्षण गरेपछि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउँछ ।’

दुई पटक सम्म सञ्चालन मिति तोकिए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ सङ्क्रमणका कारण निर्माण सामग्रीको आयातमा तथा विदेशी प्राविधिकहरूको आवतजावतमा समस्या उत्पन्न हुँदा केबलकार सञ्चालनमा ल्याउन नसकिएको त्रिपाठीको भनाई छ । ‘ कोभिड १९ बाट सिर्जित समस्याका कारण हामीले यसअघि भनिएको समयमा केबलकार सञ्चालनमा ल्याउन सकेनौ’, त्रिपाठीले भन्नुभयो, ‘ लामो समयदेखि पोखरामा केबलकारलाई कुरेर बस्नुभएका पोखरेली तथा पर्यटक महानुभाव प्रति हामी क्षमा प्रार्थी छौँ ।’

शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माण गर्दै जाँदा हाल दुई अर्ब रुपैयाँ भेटेको त्रिपाठीले बताउनुभयो । केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप तथा अतिरिक्त जग्गा खरिदले गर्दा लागत मूल्य बढेको उहाँको भनाई छ । ‘हामीले पछिल्लो क्रममा केबलकारको रुटमा पर्ने निजी आबादीको २० रोपनी भन्दा बढी जग्गा खरिद गर्‍यौ, त्योसँगै केबलकारसँग जोडेर विविध भौतिक संरचनाहरू निर्माण गर्‍यौ जसले लागत धेरै बढायो’, त्रिपाठीले भन्नुभयो ।

केबलकारको दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो ।केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गुण्डला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गुण्डला जडान गरिएको छ । केबलकारमा ३५ वटा यात्रु बोक्ने गुण्डला जडान गर्न सकिने उल्लेख गर्दै निर्देशक त्रिपाठीले पर्यटकको माग र चाप अनुसार गुण्डला थप गर्दै लगिने बताउनुभयो ।

दिनेश पौड्याल : जनरल म्यानेजर

केबलकारमा टिकटको मूल्य  नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, एसियनलाई ७ सय र अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको जनरल म्यानेजर दिनेश पौड्यालले बताउनुभयो । पौड्यालले केबलकार सञ्चालन पूर्व  टिकटमा विद्यार्थी, वृद्ध वृद्धा र स्थानीयलाई विशेष छुटको निर्णय गरिने बताउनुभयो।

प्रालिले केबलकार सञ्चालनमा ल्याएसँगै पोखराको पृथ्वीचोक र लेकसाइड क्षेत्रबाट स्टेसनसम्म पुग्नको लागि  सवारीसाधनको व्यवस्था गर्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button