प्रविधिसमाचार

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु

पाेखरा न्यूज । बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार चितवनमा काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज (शनिबार)देखि तार काट्न सुरु गरेको हो ।

प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थालाई समय दिएको थियो । उक्त समयसीमाभित्र पनि ठूला इन्टरनेट सेवा प्रदायकले अटेरी गरेकाले उनीहरुको तार काट्न सुरु गरिएको भरतपुर वितरण केन्द्रले जनाएको छ ।

भोजाडस्थित १३२ केभी सवस्टेशनबाट निकालिएका तारहरु वितरण केन्द्रको प्रमुखसहितका कर्मचारीले काटेका हुन् । प्रसारण लाइनका टावर हुँदै ल्याएका इन्टरनेटका तार १३२ केभी सवस्टेशनभित्र स्टेशन बनाएर राखिएको छ । सवस्टेशनबाट निकालेर पोलमार्फत इन्टरनेट विक्री गर्ने गरिन्छ ।

सेवा प्रदायकले टावरको भाडा नियमित तिरिरहेको भए पनि पोल भाडा भने तिरेका छैनन् । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयको निर्देशन अनुसार पोल भाडा नतिर्ने सेवा प्रदायकको तारहरु शनिबार सांकेतिक रुपमा काटिएको भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिव सिंहले बताउनु भयाे ।

‘सम्झौता नगरिकनै पोल प्रयोग गरिरहेका र भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ,’ उहाँले भन्नुभयाे, ‘यो सांकेतिक रुपमा सुरु गरिएको छ । सबै जिल्लामा इन्टनरनेट अवरुद्ध भएको छैन । तार काट्ने कामलाई निरन्तरता दिन्छौँ ।’ भाडा सम्झौताका लागि छिटो आउन उहाँले सेवा प्रदायकलाई आग्रह पनि गर्नुभएकाे छ ।

नेपाल टेलिकम र एनसेलबाहेकका इन्टरेनटका तारहरु काटिएको उहाँले बताउनु भयाे । टेलिकम र एनसेलले पोल भाडा दिइसकेको उहाँको भनाइ छ । जिल्लामा सुविसु, भायनेट, क्लासिक टेक लगायतका ठूला इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएका छन् ।

स्थानीय इन्टरनेट तथा केबुल सेवा प्रदायकले पोल भाडा तिरिसकेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताउनु भयाे । २०७५ असारदेखि प्राधिकरणले पोल भाडा बढाएपछि प्राधिकरण र सेवा प्रदायकबीच विवाद बढेको हो ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x