काउलेपानी होमस्टे घटस्थापनादेखि खुल्ने

पाेखरा न्यूज । लमजुङको पर्यटकीय गाउँ काउलेपानीका होमस्टे दसैंमा खुल्ने भएका छन् । दुई बर्षदेखि बन्द रहेको काउलेपानी होमस्टे दसैं बिदा मनाउन आउने पर्यटकलाई लक्षित गरि खुल्न लागेको हो ।

काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङका अनुसार कोरोना संक्रमण जोखिम घट्दै गएकाले पर्यटक आगमन खुला गर्ने तयारी थालिएको हो । उहाँले भन्नुभयाे, ‘दसैंको घटस्थापनादेखि काउलेपानी होमस्टे पर्यटक खुला गरिनेछ । दुईदेखि तीन दिनसम्मको दसैं प्याकेज बनाउने तयारी छ ।’

प्राकृतिक मनोरममा दसैं मनाउनेहरूका लागि प्याकेजको व्यवस्था गरेको होमस्टेका सचिव जगत गुरुङले बताउनु भयाे । दसैं प्याकेजमा सरकारी कार्यालयका कर्मचारी, व्यापारीहरू आउने गर्छन् । ‘दसैं प्याकेज’पछि ‘सामुदायिक प्याकेज’ पनि खुला गरिने उहाँले बताउनु भयाे । पर्यटकले २१ असोजबाट काउलेपानी पुगेर घुम्न र रमाउन पाउने छन् । यसबर्ष गाउँसहर कालिका मन्दिरमा पुजापाठ पनि खुला गरिने भएकाले होमस्टे खुला गर्ने नयारी भएको हो ।

समुद्री सतहदेखि एक हजार ६ सय ५० मिटर उचाईमा रहेको काउलेपानीमा बाहुन, क्षेत्री, गुरुङ, नेवार र भुजेलका २५ घर छन् । सन् २०११ मा काउलेपानीमा घरबास कार्यक्रम सुरु भएको हो । काउलेपानीका २५ घरधुरी मध्ये १५ घरमा होमस्टे छन् । काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल देख्न सकिन्छ । यहाँ शाहवंशीय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरवार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी अवलोकन गर्न सकिन्छ ।

होमस्टेमा स्थानीय खानालाई प्राथमिकता

काउलेपानीमा विशेषगरी स्थानीय परिकारलाई जोड दिने गरिएको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट नजिकै रहेको काउलेपानी आउने पर्यटकले अन्य बेला पनि छुटसहितको प्याकेज पाउँदै आएका थिए । तर कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको छ ।

काउलेपानीमा १२ महिना पर्यटकलाई तान्न सक्ने प्रशस्तै रमणीयस्थल र साँस्कृति परम्पराहरू छन् । यहाँ पुग्न लमजुङ सदरमुकाम वेसीसहरबाट गाडीमा करिब आठ किलोमीटर कच्ची बाटो यात्रा गर्नुपर्छ । यलि पैदलै यात्रा गर्ने हो भने डेढ घण्टामा पुग्न सकिन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button