श्रीमतीलाई भारतमा बेचबिखन गरेकाे अभियोगमा श्रीमान पक्राउ

पाेखरा न्यूज । आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान समेत २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । महिलाका श्रीमानले नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई आफ्नी श्रीमती बेचबिखन गरेका थिए ।

प्रहरीले महिलाका श्रीमान र तामाङलाई गत बुधबार पक्राउ गरेको छ । पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएका थिए । पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको र ती महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएकी थिइन् ।

प्रहरीका अनुसार ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको र म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएका थिए ।  पुन: म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएकोमा नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा गत जेठ ३१ गते पीडित महिला नेपाल फर्कन सफल भएकी थिइन् ।

पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button