महेश बस्नेत – प्रचण्डको सान्दर्भिकता सकियो

प्रेसरको औषधि दिने कि किसुनजीजस्तै आश्रम पठाउने

पाेखरा न्यूज । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को सान्दर्भिकता सकिएको बताउनु भएकाे छ ।

बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु भएको टिप्पणी गर्नुभएकाे छ ।

‘माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन् । अरब गएर भेडा चराइरहेका छन् । अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरिपरि राख्नुहुन्छ । छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ । सारा कालो सम्पत्ति सुमार्गीमार्फत ब्रिटेन आइल्याण्डमा लगेर पैसा थुपार्नुहुन्छ,’ उहाँले भन्नुभयाे ।

बस्नेतले थप्नुभयाे, ‘आज प्रचण्डलाई पापको भारीले पोलेको छ । अब नेपालको राजनीतिमा प्रचण्डको सान्दर्भिकता सकिएको छ । त्यहीँ भएर उहाँमा बरबराहहट सुरु भएको छ । चिच्याहट सुरु भएको छ । अनि केपी ओली र एमालेविरुद्ध बरबराउन थाल्नुभएको छ ।’

बस्नेतले सान्दर्भिकता सकिएका प्रचण्डलाई अब आश्रममा राख्नुपर्ने बताउनु भयाे । ‘अब प्रचण्डलाई कि प्रेसरको औषधि दिने हो कि कृष्णप्रसाद भट्टराईलाई हाम्रो सरकारले गोदावरीमा आश्रम बनाएर राखेजस्तै अब प्रचण्डलाई हामी एउटा राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्ने हो । प्रचण्डलाई देशको जिम्मा दिने होइन । सान्दर्भिकता सकियो,’ उहाँले भन्नुभयाे ।

राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई प्रचण्डले विभाजन गर्न कुनै कसर नछोडेको उहाँको आरोप लगाउनु भएकाे छ ।

मधेसका समस्या समाधान गर्ने एमाले हो भन्ने पुष्टि भएको बस्नेतले दाबी गर्नुभएकाे छ । ‘सुकुम्बासी आयोग बनाउने एमाले हो । कांग्रेस माओवादी मधेसवादी मिलेर आयोग भंग गरे । भूमिहीनलाई लात हाने,’ उहाँले भन्नुभयाे ।

भ्रष्टाचारी र अपराधीले तस्करी गरेको कालोधनलाई सरकारले वैध बनाउन खोजेको उहाँको आरोप छ । ‘यो देशलाई भूमाफियाको स्वर्ग बनाउँदैछन्,’ उहाँले भन्नुभयाे ।

उहाँले कांग्रेस झुटो आश्वासन बाँड्ने पार्टी भएको बताउनु भयाे । ‘आश्वासन दिने पार्टी हो कांग्रेस । बहाना बनाएर फेरि आउँछन् । अब स्थानीय, प्रदेश, संघ चुनाव हुँदैछ । झाकी ओढेर, सिंगार पटार गरेर आउनेछन् । तपाई झुक्किनु हुनेछैन । विकास र समृद्धिका लागि एमाले नै हो,’ उहाँले भन्नुभयाे ।

आश्वासन दिने र बहाना बनाउने कांग्रेसको राजनीति मधेसबाट सदा सदाका लागि समाप्त गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button