सर्प संरक्षणमा जुटेका गणेश श्रेष्ठ

भन्छन्– आफूमाथि खतरा महसुस नगरे सर्पले डस्दैन

पाेखरा न्यूज । हेलो सर नमस्कार । तपाई गणेश हो ? यहाँ हाम्रो सुन पसलमा धामन सर्प बसिरहेको छ । आइदिनुपर्‍यो । उद्धार गरिदिनुपर्‍यो । दिन होस् या रात । झापा उर्लाबारी–३ का २६ वर्षीय गणेश श्रेष्ठ मोटरसाइकल स्टार्ट गरेर बोलाएको ठाउँमा हुईकिनुन्छ । अनि सर्प हातले च्याप समाउनुहुन्छ, सुरक्षित स्थलमा लगेर छोडिदिनुहुन्छ । यो उहाँको दैनिकी हो ।

उहाँलाई सर्प समाइदिन हरेक दिन दुईचारवटा दैनिक फोन आउँछ । सर्प देख्न साथ डराउने प्रायः धेरैजसो डराउँछन् । तर गणेश भने सजिलै समाउनुहुन्छ । कुन सर्प विषालु हुन् जानकारी दिनुहुन्छ । सर्प मार्न हुँदैन भन्दै सुरक्षित स्थानमा छोड्न सुझाउनुहुन्छ ।

श्रेष्ठले किङ कोब्रादेखि डोडे सर्पलगायत सयौं सर्पहरूको उद्धार गरिसक्नुभएकाे छ । उहाँले सामान्य सर्पले टोक्दा पनि आत्तिएर ज्यान जाने गरेकाे सुनाउनु भयाे । सर्पको पहिचान भए उपचार गर्न सजिलो हुन्छ । अहिले पनि उहाँ दिनदिनै सर्पको उद्धारमा व्यस्त रहनुहुन्छ । सर्पको संरक्षणमा आकर्षित श्रेष्ठले प्रेम बिष्टमार्फत यो कला सिकेको बताउनुहुन्छ ।

प्रहरी सेवामा २१ वर्ष बिताउनु भएका प्रेमले सर्प उद्धार गरेको भिडियो खिच्न जाने क्रममा आफूले पनि सिकेको बताउनु भयाे । ‘सुरुमा त साह्रै डर लाग्यो, कतिपटक सर्पको डसाई पनि भेटियो’, उहाँले सुरुवाती दिन सम्झँदै भन्नुभयाे, ‘सिप सिकिन्छ भनेर पछि हटिएन । अहिले जस्तोसुकै सर्प उद्धार गर्न सक्छु ।’ प्रेम बिष्टसँगै हिड्ने क्रममा गणेश सर्प प्रति आकर्षित हुनुभयाे । विस्तारै सर्पका बारेमा भिडियोहरू हेर्न थाल्नुभयाे । सर्पप्रति झन् रुचि बढ्यो ।

किङ कोब्रा, हरेउ, मोनो सेलेट कोब्रा जस्ता विषालु सर्पको उद्धार गरिसकेको बताउनु भएका उहाँले कम विषालु धामन, सिंगारे, हेर्दा करेतजस्तै देखिने चिचिन्डेजस्ता सर्प उनले उद्धार गरेको जानकारी दिनुभयाे । सर्पको उद्धार गर्न उहाँलाई साथी रमेश भण्डारीले पनि सघाउनुहुन्छ । ‘मलाई रमेशले पनि सर्प समात्न सघाउँछन्’, गणेशले सुनाउनु भयाे । यसरी उद्धारमा खटिनु भएका उहाँले कुनै शुल्क भने लिनुहुन्न ।

‘स्वयंसेवी रूपमा काम गर्ने हो । सर्पको उद्धार कार्य निःशुल्क गर्छु’, उहाँले भन्नुभयाे । मोवाइल पसल सञ्चालन गर्दै आउनु भएका गणेशले हालसम्म पाँच सयभन्दा बढी सर्पको उद्धार गरिसकेको बताउनु भयाे । झापाबाहेक अरु जिल्लामा पनि सर्प उद्धारमा जाने उहाँले सर्प उद्धार कार्य जोखिमपूर्ण रहेको बताउनु भयाे । कुनै सर्प यति विशालु हुन्छन्, जसको टोकाइबाट मानिसको तुरुन्त मृत्यु हुन्छ । सर्प रेस्क्यु गर्ने मात्र हैन सर्पसँग गर्ने सबै काम, सधै चुनौतीपूर्ण नै हुने उहाँ बताउनुहुन्छ ।

उहाँकाअनुसार सर्पले देख्ने बितिकै आक्रमण कहिल्यै गर्दैन, जब सर्पले आफूमाथि खतरा महसुस गर्छ अनि मात्र डस्ने गर्छ । सर्पलाई नजिस्काए ऊ सजिलै आफ्नो बाटो लाग्ने उहाँकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button