आन्दोलनका कारण बेनी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प

साजन परियार/ म्याग्दी, २० असोज ।  बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

तीन महिनादेखिको तलब नपाएपछि भएको आन्दोलनका कारण ६४ शय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिकबाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

बहिरंग, ल्याब, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । स्टाफ नर्स मनदेवी गौतमले ठूला चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताइन् ।

‘अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो’, उनले भनिन्, ‘अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौँ । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।’

आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगंगा गाउँपालिका- ३ का डम्मरबहादुर कार्कीले सेवा नपाउँदा समस्या भएको बताए ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुईवटा कार्यालयसमेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको बेनी अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोकिएको अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले बताए ।

लेखापाल सुवेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखापरीक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भए पनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनीका, अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच छलफल गरेर सेवा नियमित गराउन पहल गरेको प्रमुख डा. कँडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button