मनोरन्जनसमाचार

बलिउड फिल्म ‘उचाइ’को सुटिङ टोली लुक्लामा

पाेखरा न्यूज । बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने फिल्म ’उचाइ’को छायांकनका लागि युनिट हिमालतर्फ लागेको छ । आइतबार काठमाडाैं आइपुगेको टोलीले दुई दिनसम्म उपत्यकाका विभिन्न स्थानमा छायांकन गरेको थियो । स्वयम्भू, एअरपोर्टसँगै युनिट बसिरहेको हायात होटलमा छायांकन सकेर युनिट हिमाली भेगमा पुगेको हो ।

युनिट बुधवार नै लुक्ला प्रस्थान गर्ने तालिका रहे पनि मौसममा आएको खराबीको कारणले गर्दा बिहीबार मात्र उडान सम्भव भएको हो । फिल्मका मुख्य कलाकार अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीसहित दुई सय ५० जनाको टोली फिल्म छायांकनका लागि हिमाली भेगमा करिब एक महिना बिताउने छ ।

नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्य हुनुहुन्छ । सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसंगै बलिउडबाट अन्य धेरै सिनेमा छायांकनको लागि आउने आचार्यको विश्वास छ । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर हुनुहुन्छ, अरुण रेग्मी । रेग्मीका अनुसार यसको छायांकन मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायतका हिमाली भेगमा हुनेछ । फिल्ममा अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।

‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘प्रेम रतन धन पायो’ जस्ता सफल फिल्मका निर्देशक बडजत्याको यो फिल्ममा केही नेपाली कलाकारहरू पनि जोडिएका छन् । ‘उचाइ’मा एक दर्जनभन्दा बढी व्यावसायिक नेपाली कलाकार, प्राविधक र भरियासहित केही स्थानीय पनि जोडिएको बताइएको छ ।

नेपाली कलाकारहरू परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकार फिल्ममा देखिनु हुनेछ । यद्यपि उहाँहरूको भूमिका कस्तो हुने भन्ने विषयमा खुलाइएको छैन । नेपाली कलाकारको कास्टिङ छनोटको काम सिर्जना सूत्रले गरेको हो।

‘फिल्ममा नेपाली कलाकारहरूले स्थानीयको भूमिका निर्वाह गर्नु हुनेछ’ फिल्मसंग जोडिएका एक सदस्यले भन्नुभयाे । उचाइको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ । छायांकनका लागि भारतबाट एक सय ८० जनाभन्दा बढी क्रु मेम्बर नेपाल आउनु भएकाे छ । फिल्मको छायांकन शुक्रबारदेखि हुनेछ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x