गोरखकाली मन्दिरको दसैँघरमा पनि राखियो जमरा

पाेखरा न्यूज । गोरखादरबार परिसरमा रहेको गोरखकाली मन्दिरको दसैँघरमा पनि बिहीबार विधिपूर्वक शुभ साइत पारेर जमरा राखिएको छ । मन्दिरमा घटनास्थापनाको दिन बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा दुईपाथी चार माना जौको जमरा राखिएको गोरखकाली मन्दिरका पुजारी लीला बोहराले जानकारी दिनुभयाे ।

जमरा राख्नुअघि कालो बोकाको बलिसमेत दिइएको छ । जमरा राख्नुअघि बिहान ५ बजेर ४० मिनेटमा गोरखादरबारको कैलाश कोठाबाट मन्दिरको गर्भगृहमा भगवती सार्ने चलन छ ।

गोरखामा जस्तै पूरानो दरबार कास्कीकोटमा पनि बिहीबार घटस्थापना गरिएको छ । बैद्धिक विधिअनुसार पुजारीहरु दरबार पुगेका छन् । बिहीबारदेखि शक्तिपीठहरूमा पूजा सुरु भएको छ ।

नेपालको उन्नति र रोगव्यादी हरणको कामनासहित संकल्प गरेर पूजाआजा थालिएको कास्कीकोटका मुख्य पुजारी ठाकुरप्रसाद त्रिपाठीले बताउनु भयाे । पहिलेका वर्षमा जस्तो रौनक अहिले केही घटे पनि उत्साह र परम्परा घटेको छैन ।

कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै पूजा सुरु गरिएको त्रिपाठीले सुनाउनु भयाे । ‘परम्परा उही छ । केही घटेको छैन । भक्तजनहरु पनि उत्साहित हुनुहुन्छ,’ उहाँले भन्नुभयाे, ‘तर, राज्यले शक्तिपीठहरूलाई बेवास्ता गरेको छ । सरकारको बेलैमा ध्यान पुगोस् ।’

राज्य पुनसंरचना अघिसम्म कास्कीकोट र गोरखकाली दरबारबाट राजदरबारमा बलिको बोकासहित टीका र जमरा पठाउने चलन थियो । अहिले त्यो क्रम रोकिएको छ । यद्यपि, गोरखाबाट फूलपाती भने हनुमान ढोकामा अहिले पनि गइरहेको छ । बिहीबारकै दिनदेखि नेपालीहरूको मुख्य पर्व बडा दसैँ सुरु भएको छ । बिहीबार राखिएको जमरा दशमीका दिन सेलाउने चलन छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button