धरौटी नबुझाउँदा पोखरामा जागिर लगाइदिन्छु भन्दै ठग्ने युवक जेल चलान

पोखरा न्यूज । पोखरामा आकर्षक जागिर मिलाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञापन गरेर ठगी गर्ने स्याङजा फेदीखोला गाउँपालिका ४ आरुखर्कस्थित लप्सिवोटका केशव पौडेल भनेर चिनिने २२ वर्षीय कृष्ण पौडेल जेल चलान भएका छन् ।

अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि पौडेल बुधबार जेल चलान भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले पोखरा न्यूजलाई बताउनुभयो ।

डिएसपी हमालका अनुसार जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेकोमा उक्त धरौटी रकम बुझाउन नसकेपछि पौडेललाई  जेल चलान गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पोडेलविरुद्ध १६ लाख १८ हजार ३० रुपैयाँ विगो मागदावी गरेको थियो ।

पौडेलले पोखरा महानगरपालिका २७ स्थित ताल चोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्रालि नामक कम्पनी स्थापना गरेर सम्पर्कमा आउनेसँग जनही २५/२५ सयका दरले ठगी गरेका थिए।

पौडेल पक्राउ परे लगत्तै पीडित युवाहरूले उनले विभिन्न कम्पनीमा जागिर लगाइदिने बहानामा ४५ सय जना भन्दा बढीलाई ठगेको बताएका थिए ।

ठगी आरोपमा पक्राउ परेका पौडेल विरुद्ध ६३८ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा  ठगिएको प्रमाण पेस गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button