पोखरामा दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

पोखरा न्यूज । नाटककारका रूपमा परिचित पोखरेली लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ ।
साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले संयुक्त रूपमा पोखरामा करिब २०० जना कला तथा साहित्यप्रेमिका बिचमा लेखक पराजुलीको नयाँ उपन्यास ‘मिथ्या’ शुक्रबार सार्वजनिक गर्नुभएको हो ।

पुस्तक सार्वजनिक कार्यक्रममा वक्ता कवि प्रतीक्षाले उपन्यास ‘मिथ्या’ आख्यानमा बौद्धिकता रुचाउने पाठकहरूको निम्ति अत्यन्तै फलदायी रहेको बताउनुभयो । ‘उपन्यासका पात्रहरू वैचारिक चरित्रका रूपमा रहेका छन्,’ उहाँले भन्नुभयो , ‘ यथार्थ र सरल चरित्रका पात्र भन्दा फरक पात्र भएकाले उपन्यास रोमाञ्चक बनेको छ ।’

अर्का साहित्यकार गनेस पौडेलले आख्यानमा नवीन स्वाद खोज्ने पाठकले ‘मिथ्या’ उपन्यास रुचाउने धारणा व्यक्त गर्नुभयो । ‘उपन्यासले कथा वाचनको पूर्वीय परम्परागत शैलीलाई पछ्याएको छ, उहाँले भन्नुभयो, ‘अतीत, वर्तमान र भविष्यलाई समेटेर समाजका विभिन्न आयामहरूलाई उपन्यासले चरितार्थ गरेको छ ।

कवि तथा लेखक तीर्थ श्रेष्ठले नेपाली आख्यानको फाँटमा लेखकले उपन्यास मार्फत आफूलाई बलियो रूपमा उभ्याउन सफल भएको बताउनुभयो । ‘पोखराले उपन्यासको विधामा लामो यात्रा पार गरेको छ, उहाँले भन्नुभयो ‘ यो यात्रामा अहिले दीपकले आफूलाई बलियोसँग उभ्याएको छ ।’

साहित्यकार सरुभक्तले प्रयोग धर्मी उपन्यास जटिल हुने बताउनुभयो । ‘आख्यानकारले जटिलतालाई पनि रोचक शैलीमा प्रस्तुत गरेर आफूलाई अब्बल साबित गरेका छन्’, उहाँले भन्नुभयो ।

कार्यक्रममा लेखक पराजुलीले उपन्यास ‘मिथ्या’तयार गर्नेदेखि सार्वजनिक गर्दासम्म अग्रज, अनुज तथा सहकर्मीहरूको अद्भुत माया र हौसला मिलेको भन्दै आभार प्रकट गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button