तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

पाेखरा न्यूज । नवरात्रको आज पाँचौ तथा तिथि अनुसार छैटौं दिन । आज देशभरका शक्तिपिठहरूमा नवदुर्गाको छैटौं स्वरुप कात्यायनी देवीको पनि पूजा आराधना गरिँदैछ ।

आज बिहान ६ः३० बजेसम्म पञ्चमी तिथि रहेको छ भने त्यसपछी तिथि क्षय रहेको छ । तिथि क्षय भएको अवस्थामा षष्ठी तिथिलाई पनि आजै मानेर पूजाआराधना गर्न सकिने गजेन्द्रमोक्ष संस्कृत परिषद्का सचिव सागर रिजाल (सनातन) बताउँछन् ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

चंन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।
कात्यायन शुभम् दद्यात् देवी दानव घातिनि ।।

कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । कात्यायनी देवीलाई पार्वतीको सौर्य अवतार समेत मानिन्छ ।
कात्यायन ऋषिले देवीको कठोर तपस्या गरी देवीलाई आफ्नो पुत्रीको रुपमा प्रप्त गर्ने वरदान पाएका थिए । त्यसको केही समयपछि महिषासुर नाम गरेको राक्षसले सबै प्रणीलाई दुःख कष्ट दिँदै अत्याचारको पराकाष्ठा तोडपछि महिषासुरको विनासका लागि बह्मा, विष्णु तथा महेश्वरले आ–आफ्नो तेज तथा प्रतापबाट देवीको उत्पन्न गरेका थिए । महर्षी कात्यायनले यही देवीको उपासना गरेकाले देवीको नाम कात्यायनी रहन गएको हो ।

आश्विन कृष्ण चतुदर्शीमा जन्मलिएकी देवीको कात्यायन ऋषिले नवमीसम्म उपासना गरेका थिए । ऋषिको आराधनालाई स्वीकार गर्दै दशमीका दिन देवीले राक्षस महिषासुरको वध गरेकी थिइन् । महिषासुरको वध गरेकाले देवीको अर्को नाम महिषासुर मर्दिनी पनि रहन गयो । यो कथा देवीभागवत लगायतका ग्रन्थमासमेत उल्लेख गरिएको छ ।

चार हात भएकी देवीको एक हातमा तरवार र अर्को हातमा कमलको फूल रहेको छ भने दुई हात आशीर्वाद मुद्रामा छ । कात्यायनी देवीको पूजाआराधना गर्नाले अर्थ, कर्म, कामका साथै मोक्ष प्रप्त हुने विश्वास गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button