आज फूलपाती : घरघरमा फूलपाती भित्र्याइँदै, कालरात्री देवीको उपासना गरिँदै

पोखरा न्यूज । आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

हनुमान ढोका दरवारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरवारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने सँस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरवार संग्रहालय विकास समितिले जनाएको छ ।

आज कालरात्री देवीको उपासना गरिँदै

भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको आज पूजाआराधना गरिन्छ । कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।

पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी थिइन् । सप्तमीको विहानै आफ्नो नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।

करालवंदना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।

शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभीत गर्नेवाला रहेको छ । कपाललाई फिँजाइएको छ भने उनको चार हात रहेका छन् । विद्युत्को माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ ।

चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हालमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभ फल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।

कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रासहरू समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button