खुसी किन्न बिदेसिन बाध्य नेपालीको कथा ‘बस है पियारी’ (भिडियोसहित)

पोखरा न्यूज । खुशी किनेर पाईन्छ ? शायद पाईदैन । तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपाली युवाहरु विदेशिन्छन् । थुप्र्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा छ, व्यथा छ अनि बाध्यता छ ।

नेपालीहरु दशैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौदेखि विदेशिएका नेपालीहरु दशैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरुको बाध्यता यस्तो छ कि, उनीहरु दशैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाईलो गर्न छाडेर विदेशिनु पर्दाको पीडा पक्कै पनि नमिठो हुन्छ ।

साहुको ऋण, आफ्नो अनि बालबच्चाको भविष्यको चिन्ता गर्दै घरको मुल मान्छे नै विदेश जाँदा परिवारका अन्य सदस्यहरुको पनि आफ्नै खाले पीडा हुन्छ । तथ्यांकले भन्छ–‘वैदेशिक रोजगारीमा नेपालबाट वर्षेनी ५ लाख भन्दा बढि युवाहरु विदेशिन्छन् ।’ वैदेशिक रोजगार विभागको अनुसार त्यस्तो कुनै पनि दिन छैन, जुन दिन नेपाली युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि बिदेशिएका नहोउन् । दैनिक कम्तीमा १५ देखि बढिमा २५ सय जनासम्म नेपाली युवाहरु विदेश जाने गरेका छन् ।

तथ्यांकले यो पनि देखाउँछ कि वर्षेनी ८ सय भन्दा बढि नेपाली युवाहरुको लाश विमानस्थलबाटै नेपाल फर्कन्छ । हालसम्म विदेशिने नेपाली युवाहरुको संख्या ७० लाखको आसपास छ ।

यस्तै कथालाई टपक्क टिपेर गीतकार आकाश दाहालले गीत कोरे–‘बस है पियारी, घरबारै स्याहारी’ । गायक तथा संगीतकार सन्तोष बस्यालले धुन भरेर गीत गाए । सोही गीतमाथि निर्देशक नेत्र गुरुङले भिडियो बनाए । गीतको भिडियोमा अभिनेत्री सोफि धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।

वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो मंगलबार जक्शन टिभीको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ । फुलपातीको साइत पारेर पोखरामा मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरि गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोलाई गतिलो प्रतिक्रिया मिलेको छ । मंगलबार मिडियाकर्मीमाझ गरिएको प्रिमियरमा सहभागीले गीत र भिडियोलाई रुचाए । ‘यो गीतले साँच्चै मन छुन्छ । हरेक नेपाली घरको कथा बोल्छ । अडियो मेकिङका हिसाबले पनि गीत उत्कृष्ट छ ।’ गीतमाथि आफ्नो धारणा राख्दै गायक तथा संगीतकार बिनोद बाँनियाले भने–‘गीतलाई स्रोता अनि दर्शकहरुले पनि निकै रुचाउने विश्वास लिएको छु ।’

त्यस्तै कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले भिडियो र गीतको उत्कृष्ट ‘कम्बिनेशन’ भएकै कारण ‘बस है पियारी’ दर्शक अनि स्रोताको मनमा बस्ने बताए । ‘पोखराबाट पनि यो लेभलको काम हुन्छ भन्ने प्रमाणित भएको छ । गीत अनि भिडियोको मेकिङ लेभल पनि उत्कृष्ट छ ।’ गुरुङले भने–‘यसले पोखराको कला क्षेत्रलाई अगाडि बढाउन अझै बढि मद्दत पुग्ने निश्चित छ ।’

जक्शन म्यूजिक लञ्च

पोखराको संगीत क्षेत्रलाई व्यवसायिक बनाउँदै यहाँका संगीतकर्मीहरुलाई कलाको उचित मूल्य दिने उद्देश्यसहित नयाँ म्यूजिक कम्पनी शुरु भएको छ । जक्शन ग्रुप प्रालिले ‘जक्शन म्यूजिक’ नामक युट्युब च्यानलको लञ्च गर्दै यसको जानकारी दिएको हो ।

संगीतको उर्वर भुमी मानिने पोखरामा थुप्रै संगीतकर्मीहरुले कर्म गरेपनि व्यवसायिक हुन भने नसकेको आरोप लाग्ने गरेको छ । ‘पोखराबाटै बन्ने थुपै्र गीत र भिडियोहरु सार्वजनिक गर्ने व्यवसायिक प्लेटफर्मको अभाव हुँदा यहाँका संगीतकर्मीहरुले काठमाण्डौको प्लेटफर्म प्रयोग गर्नुपर्ने बाध्यता छ । यहि बाध्यतालाई केही कम गर्न भएपनि हामीले प्रयास गरेका हौँ ।’ जक्शन ग्रुप प्रालिका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘बस है पियारीबाट हामीले शुरुवात गरेका छौँ । आगामी दिनमा यहाँका अन्य संगीतकर्मीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’

जक्शन ग्रुप प्रालिले हाल जक्शन डटकम संचालन गर्दै आएको छ । ‘न्यूज, इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट’ थिममा संचालित कम्पनीले इन्टरटेनमेन्ट सेक्सन अन्तरगत ‘जक्शन म्यूजिक’ लञ्च गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button