सुख्खा पहिरोले नदी थुनिदा गाउँ नै जोखिममा, प्रहरी चौकी र वडाको सामान सारिँदै

जीवन कैला/ बाजुरा, २६ असोज ।  बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो ।

करिब दुई महिना पहिलेदेखि बेला बेला भिरबाट पहिरो जान थालेपछि नदी थुनिने खतरा बढेको स्थानीयले बताएका छन् । दुई महिनायताको लगातार सुख्खा पहिरोले गर्दा कर्णाली नदी थुनिन थालेपछि नदी आसपास तथा छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन् ।

झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एक रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा परेका बताइएको छ । बेला बेला बग्ने पहिरोबाट कर्णाली नदी थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई समस्या भएको बताइएको छ । कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन् ।

स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एकको रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक्कासी पहिरो खस्दा आज विहान १०/१५ मिनेटसम्म कर्णाली नदी थुनिएपछि नदी वरपरका स्थानीय आत्तिसकेका भए पनि केहीबेर पछि नदीको एक तर्फबाट पानी बग्न सुरु भएको स्थानीयले बताएका छन् । स्वामीकार्त्तिकको रुडि गाउँको आसपासबाट पनि निरन्तर पहिरो जान थालेपछि रुडि गाउँका करिब १५० बढी घरपरिवार उच्च जोखिममा रहेको स्थानीय नन्दबहादुर खत्रीले बताउनुभयो । गाउँको माथि र तलबाट कडा चट्टान फुट्न थालेपछि गाउँ नै जोखिममा रहेको उहाँको भनाइ छ ।

योसँगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी पनि जोखिममा परेको भन्दै कार्यालयका सामान अन्यन्त्र सार्न थालेको जुड्डी प्रहरी चौकीले जनाएको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टी स्वामीकार्त्तिकको छुद्दरी गाउँ नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुंगा, माटो थुप्रिएपछि नदी थुनिएको शिक्षक दानबहादुर धामीले बताउनुभयो । यसअघि गत साउनमा पनि पहिरो जाँदा कर्णाली नदी थुनिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button