इतिहास बोकेको कास्कीकोट दरबार: सरकारको बेवास्ता, ऋण खोजेर परम्परा धानिँदै

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्याे टीका र जमरा

पोखरा न्यूज । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे ।

विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा दरबार चर्चामै थिए । अहिले राज्यको पुनःसंरचना भएको छ । देशमा गणतन्त्र आयो । राजसंस्थाका अवशेषहरू पनि विस्तारै हराउँदै छन् ।

नेपालमा राजतन्त्र छँदासम्म कहिलेकाहीँ पुरानो भूमि कास्कीकोटमा दसैं मनाउन राजपरिवार आइपुग्थे । राजसंस्था नभए पनि अघिल्लो वर्ष पूर्वयुवराज पारस शाह कास्कीकोटमै क्षमापूजा गरेर फर्किए । राजा नभएपछि शक्तिपीठहरूमा राष्ट्रपति आउनुपर्ने हो, जनप्रतिनिधि पुग्नुपर्ने हो । तर अहिलेसम्म कोही पुगेका छैनन् । राज्यको प्रतिनिधिका रूपमा भारद्धाज गोत्रका ठकुरीले परम्परा धानिरहेका छन् । कास्कीकोटमा ६ जना पुजारी छन् । अधिकारी, बराल, त्रिपाठी, तिमल्सिना दुईथरी र बास्तोलाले पूजा गर्ने चलन छ । बर्कामणि, फेवाली, कोटाले र राजा साहेवकर्ता हुन्छन् ।

यो चलन अहिले पनि जीवित छ । गणतन्त्र आउनुअघिसम्म टीका, जमरा र नवमीको बलि दरबार पठाउने चलन थियो । ‘पहिले राजाको दसैं भन्ने हुन्थ्यो । नवमीको दिन बलि दिइएको बोकाको दाहिने सपेटो दरबारमा पठाउने चलन थियो । हाम्रा हजुरबुबाहरूले दरबारमै पुगेर राजालाई टीका लगाइदिने चलन पनि थियो,’ कास्कीकोट दरबारका पुजारी ठाकुरप्रसाद त्रिपाठीले भन्नुभयो , ‘पछि हुलाकबाट पठाउन थालियो । अब अहिले कता पठाउने ? अलमल छ । राष्ट्रपतिलाई पठाउने कि कता पठाउने ? न सरकारले ध्यान दियो, न पठाउ भनेको छ ।’ सरकारले पूजाका लागि लाग्ने खर्च नपठाएका कारण आफूहरूले पनि चासो नदिएको उहाँले सुनाउनुभयो ।

‘हुन त राज्यले पनि हामीलाई पैसा पठाएको छैन । जाँदाजाँदा हैरान भइसक्यो । पूजा खर्च भनेर सीडीओकोमा गएको पाँच हजार दिए । संस्कार धान्न गुठियारहरूले चलाइरहनुभएको छ । नत्र परम्परा उहिलै हराइसक्थ्यो,’ उहाँ भन्नुहुन्छ, ‘राजा नभएपछि टीका जमरा अहिले राष्ट्रपतिलाई पठाउनुपर्ने हो । त्यसो गरिएको छैन ।’

परम्परा धान्नका लागि मात्रै आफूहरूले पूजा नछाडेको त्रिपाठी बताउनुहुन्छ । ‘परम्परा धान्नै पर्‍यो । ऋण खोजेर १७ वटा बोका र सातवटा राँगाको बलि अर्पण गर्दैछौं,’ उहाँले थप्नुभयो , ‘हामीले समितिले ऋण खोजेरै भए पनि बलि दिन्छौं । कम्तीमा दुई लाख ३० हजार बलिमा खर्च हुन्छ । पूजाको अरु खर्च छुट्टै छ ।’ उहाँका अनुसार बलि दिन जातीय विभेद दरबारमा छैन । सबैले ढुक्कसँग बलि दिने व्यवस्था मिलाइएको दरबारले जनाएको छ ।

कास्कीकोट र अन्य दरबारमा पूजा परम्परा फरक नभएको त्रिपाठीले जानकारी दिनुभयो । ‘यो त ओझेलमा परेको ठाउँ हो । यहीँको सिको लमजुङ र लमजुङको सिको गोरखाले गरेको हो, उहाँ भन्नुहुन्छ, ‘शक्तिपीठमा पूजाको परम्परा एउटै हो । बलिमा तलमाथि हुन्छ । उता धेरै सम्पत्ति छ, २१ वटा राँगा काट्छन् । हामीसँग पैसा छैन, सातवटा काट्छौं ।’

सरकारले हिजाेआज शक्तिपीठलाई बजेट छुट्याउन छोडेको छ । यो वर्ष विश्व शान्तिको कामना तथा नेपालको उन्नति र रोगव्याधी हरणको निमित्त संकल्प गरेर पूजा गरिएको हो । ‘कोरोनाले अघिल्लो वर्ष राम्रो भएन । अहिले कोरोना पनि घटेको छ । सामाजिक दूरी कायम गरेर भक्तालु आउनुहुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘पूजा परम्परामा पनि कोभिडले थोरै असर गरेको छ । तर रौनक केही फेरिएको छैन, तरिका फेरिएको छैन ।’ शास्त्रीय पद्धतिअनुसार चल्ने भएकाले परिवर्तन नभएको बरु पहिले हराएका विधिलाई थपिएको उहाँको भनाइ छ ।

कास्कीकोटमा तान्त्रिक र वैद्धिक दुवै पूजा हुन्छ । बानदार ६ जना र पाला पुजार १२ गरी १८ जना दशमीका दिनसम्म दरबारमै बस्छन् । षष्टीको दिन त्रिपाठीहरू पोखराकै रामघाट गएर सप्तमीको दिन डोलीसहित फूलपत्र भित्र्याउने चलन छ । त्यसपछि नेपालकै पुरानो टुँडिखेल कुलमण्डन पार्कमा सरुन प्रवचनसहित अष्टमीमा राति कालरात्रीको महावलि पूजा गर्ने चलन छ ।

नवमीमा सबै भक्तजनका लागि पन्चवली पूजा हुन्छ । होम हुन्छ, वेद र चण्डी पाठ हुन्छ । दशमीको दिन टीका लगाएर वासपानी कुण्डमा लगेर विसर्जन गर्ने चलन छ । ‘मान्छेहरू उत्साही छन् । विशेष कारणले नआउने हुन सक्छ, तर उत्साह र प्रचलन घटेको छैन,’ पुजारी त्रिपाठी भन्नुहुन्छ , ‘परम्परा नहराओस् भनेर नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न थालेका छौं ।’

कास्कीकोटसहित पोखराका विन्ध्यावासिनी, तालबाराही, केदारेश्वर जस्ता महत्वपूर्ण पीठहरूमा पनि परम्पराअनुसार दसैं पूजा हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button