पोखरामा नाटक निर्देशन कार्यशाला शुरु

पोखरा न्यूज । पोखरामा गण्डकी प्रदेश स्तरीय नाटक निर्देशन कार्यशाला शुक्रबारबाट शुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक औपचारिक कार्यक्रमकारबिच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नाटक निर्देशन कार्यशालाले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशील बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो । नाटकमा पस्कने सामाग्री जस्ताको तस्तै दर्शकमाझ पुग्ने भएकोले यसरी पस्कने सामाग्रीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशको नाट्य क्षेत्रको विकासमा सदैव साथ रहने उहाँको प्रतिबद्धता थियो ।

नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व सदस्य सचिव समेत रहनुभएका संस्कृतिकर्मी तीर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै प्रदेशको साहित्य तथा कलाको क्षेत्रमा केही सकारात्मक सङ्केत देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । कोरोनाका कारण थला परेको नाट्य क्षेत्रलाई चलायमान बनाउन कार्यशालाले सघाउने उहाँको विश्वास छ । नेपालको नाट्य क्षेत्रमा पोखराको बेग्लै छाप रहेको उहाँको भनाई थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्त्री डा. विश्वकल्याण पराजुली, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बोल्नुभएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्ला मध्य मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाबाट २२ जनाको सहभागिता रहेको छ । मनाङ र मुस्ताङबाट भने सहभागिता नभएको आयोजकको भनाई छ ।

कार्यशालाले गण्डकी प्रदेशमा नाटक प्रतिको आकर्षण बढाउन सहयोग पुग्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताउनुभयो । यो वर्ष नाटकसँग सम्बन्धित तीन वटा कार्यक्रम प्रतिष्ठानले आयोजना गर्ने श्रेष्ठले जनाउनुभयो । कार्यक्रममा १५ जना प्रशिक्षकले प्रशिक्षार्थीलाई प्रशिक्षण गराउने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।

पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन भएको कार्यशाला  गन्धर्व नाटक घरमा कार्तिक १५ गतेसम्म चल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button