‘उत्कृष्ट पुरस्कार’ पाएकाे भाेलिपल्टै डीएसपीको सरुवा

गृहमन्त्रीकाे ठाडो निर्देशन

पाेखरा न्यूज । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे सरुवा भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो ।

तर कुँवरले प्रमाणपत्र बुझेकाे २४ घन्टा नबित्दै सरुवा परेका हुन् । उहाँ ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आउनु भएकाे थियाे ।

डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ ।

कुँवरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ । प्रहरी स्राेतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन् । रुपन्देही खाँणको गृहजिल्ला हाे ।

मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन । यी प्रकरणमा भएका आन्दाेलनमा गृहमन्त्रीकाे आलाेचना भएपछि कांग्रेस नेताहरु कुँवरसँग रुष्ट बनेका थिए । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएकाे छ । पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button