पोखरा न्यूज । नेकपा एमालेले कास्कीकाे पोखरा महानगरपालिकासहित जिल्लाका पाँचवटै पालिकामा सर्वसहमतिमै नेतृत्व टुंग्याउन प्रयास थालेकाे छ । एमालेले आज मंगलबार देशभर पालिका अधिवेशन गर्दैछ ।
‘सर्वसम्मत नेतृत्व चयन भए सबैभन्दा बढी प्रजातान्त्रिक हुने हो । मतदान नै गर्नुपर्छ भन्ने छैन,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भन्नुभयो, ‘सबै जना सर्वसम्मतको पक्षमा हुनुहुन्छ ।’
पोखरा, रुपा र मादीमा पूरानै अनुहार दोहोरिने सम्भावना छ । पोखरामा हाल दीपक पौडेल अध्यक्ष हुनुहुन्छ भने रुपामा सहबक्स मियाँ र मादीमा बालकृष्ण गुरुङ हुनुहुन्छ । तीनै जनाको अध्यक्षमा दावी रहेको छ ।
यद्यपि, पोखरामा तेजनारायण अधिकारी र दिलीप न्यौपानेले पनि दाबी गर्नुभएको छ । अधिकारीले भन्नुभयो, ‘सर्वसम्मत अध्यक्ष बन्छु भनेर नै महानगरको प्रतिनिधि बनेको हुँ । अबको अध्यक्ष म नै हो ।’ अधिकारी र पौडेल पृथ्वीसुब्बा गुरुङ निकट हुनुहुन्छ भने न्यौपाने खगराज अधिकारी निकटका हुनुहुन्छ ।
रुपामा मियाँलाई नै सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण गर्ने तयारी छ । ‘उहाँले छोड्नुभयो भने मात्रै अरु विकल्प खोज्ने हो । उहाँले इच्छा देखाए यो कार्यकाल सर्वसम्मत रुपमा उहाँले नै पाउनुहुन्छ,’ एक नेताले भन्नुभयो, ‘गण्डकीमा मुस्लिम समुदायबाट अध्यक्ष बन्ने उहाँ मात्रै हो । त्यसैले यो एमालेका लागि पनि गौरवको विषय हो ।’ रुपामा मुस्लिम समुदायकाे बाहुल्य छ । यहाँ एमाले विभाजनको बेला एकीकृत समाजवादी रोजेर पनि पछि फर्किएका वडा नम्बर ५ का वडा सदस्य दामोदर घिमिरेले पनि अध्यक्षमा दावी गर्नुभएको छ ।
मादीमा वर्तमान अध्यक्ष बालकृष्ण गुरुङ दोहोरिने सम्भावना छ । तर, वडा नम्बर ६ का वडाअध्यक्ष पसबहादुर बास्तोला र अर्का नेता हरिबाेल गौतमले पनि दाबी गर्नुभएको छ । देखिएका ३ वटा नाम मध्येमा एउटालाई सर्वसम्मत रुपमा चयनकाे प्रयास भइरहेकाे छ ।
अन्नपूर्ण गाउँपालिकामा वर्तमान उपाध्यक्ष सगुन गुरुङले अध्यक्षमा दाबी गर्नुभएको छ । ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ तथा नेता सुरेन्द्र गुरुङ, सोम पौडेल, विवेक देवकोटा, गौरी सुवेदी लगायतको पनि आकांक्षा देखिएको छ । ‘म भुगोलमै राजनीति गर्छु । जिल्ला र प्रदेशमा जानु छैन,’ गुरुङले भन्नुभयो, ‘अरु ठाउँ महिलाले नेतृत्व दाबी गरेनन् भन्नेहरु यहाँ महिलालाई नै पछि पार्न सर्वसम्मतको कुरा गर्छन् । सर्वसम्मत नै गरेपनि महिलाले नेतृत्व गर्दा के विग्रिन्छ ?’
माछापुच्छ्रेमा विक्रम गुरुङ र महेश्वर दवाडीले आकाँक्षा देखाउनुभएको छ । उहाँहरुले आ- आफ्नो प्यानलबाट सचिवको उम्मेदवार समेत घोषणा गर्नुभएको छ । विक्रमको प्यानमा दुर्गाबहादुर क्षेत्री सचिव हुनुहुन्छ भने दवाडीको प्यानलमा कमल भुजेल रहनुभएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution