कुन सेलिब्रेटीले कसरी मनाउँदै छन् तिहार ?

पाेखरा न्यूज । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । अघिल्लो वर्षको भन्दा यसपालि परिस्थिति अलि सहज भएकाले जनमानसमा उत्साह पलाएको छ ।आमसर्वसाधारणझैँ फिल्म तथा संगीत क्षेत्रका सेलिब्रेटीहरू पनि विशेष तवरले तिहार मनाउने गर्दछन् ।

यसपालिको तिहार कुन सेलिब्रेटीले कसरी मनाउँदैछन् ? उनीहरूको योजना के छन् त ?

यसपालि देउसी खेल्न जाने मन छ

भुवन केसी, अभिनेता

यसपालि अलि रौनक छ । चाडपर्व आएजस्तो लागेको छ । तर, पनि सावधानी भने अपनाउनुपर्छ । घरमा देउसीभैलो खेल्न आउनेहरूसँग नाचगान गर्न र उनीहरूले दिएको आशिष् लिन बडो आनन्द लाग्छ । मैले आफैँ देउसीभैलो नखेलेको त वर्षाँै भयो । नजिकका साथीहरू मिले भने यसपालि चाहिँ देउसी खेल्न जान मन लागेको छ । हेरौं, माहौल कस्तो बन्छ ।

मेरी एउटी बहिनी छे, ऊसँग टीका लगाउँछु । घरमा सबैजना भेला हुन्छौँ । त्यो निकै रमाइलो पक्ष हो । तिहारपछि ‘पारस’ फिल्मको सुटिङ गर्ने योजना छ । त्यसको तयारी पनि चलिरहेको छ । संसारभरका दाजुभाइ दिदीबहिनीलाई तिहारको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

 

काठमाडौंमै मेरो भाइटीका

रेखा थापा, अभिनेत्री

यसपालि कोरानाभाइरस संक्रमण घट्दै गएकाले अघिल्लो वर्षको भन्दा जनजीवन सामान्य हुँदै गइरहेको छ । त्यसैले यसपालि तिहार अलि खुलेर मनाउन पाइँदै छ । तर, पनि हामीले सजकता भने अपनाउनै पर्छ । मलाई रंगोली बनाउन आउँदैन । यसपालि लक्ष्मीपूजामा ‘ट्राइ’ गर्छु । मम्मीसँग मिलेर सेल पकाउने, घरमा बत्ती लगाउने, फूलहरू सजाउने गर्छु ।

मलाई देउसीभैलो खेलेको हेर्न बडो आनन्द लाग्छ । सानोमा त खुब खेल्थेँ । अचेल त हेर्न रमाइलो लाग्छ । यसपालिको भाइटीका पनि काठमाडौंमै मनाउँछु । मेरा दुई जना दाइ हुनुहुन्छ, विराटनगरबाट एक जना दाइ टीका लगाउन आउनु हुन्छ । मैले टीका लगाउने गरेका कतिपय दाइभाइहरू बाहिर छन् । त्यसैले यसपालि सबैसँग टीका हुन्न होला ।

 

विराटनगर जान्छु

दीपाश्री निरौला, निर्देशक

तिहारको झिलिमिली मलाई एकदम मनपर्छ । काग, कुुकुर, लक्ष्मीदेखि लिएर भाइसम्मको पूजा गर्न पाइने पर्व एकदम गजब लाग्छ मलाई । यसपालि भने खुलेरै तिहार मनाउने प्लान छ । त्यसका लागि म मूलघर विराटनगर जादै छु । दाजुभाइलाई टीका लगाएर, मागेर आशीर्वाद लिन्छु । सेल पकाउने, घर झिलिमिली बनाउने, घरमा देउसीभैलो खेल्न आएकाहरूसँग नाच्ने, नचाउने, निकै रमाइलो लाग्छ ।

सानोमा त देउसीभैलो भट्याउन आफैँ हिड्ने गर्थें । रातभरि भैली खेलेर जम्मा भएको पैसा र चामल लिएर घर नजिकै वनभोज खान जान्थ्यौँ । निकै रमाइलो हुन्थ्यो बच्चा बेलाको तिहार । सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई ह्याप्पी तिहार भन्न चाहन्छु ।

सुटिङमै मनाइन्छ तिहार

दयाहाङ राई, अभिनेता

उज्यालोको पर्व तिहार मलाई बडो रमाइलो लाग्छ । कोरोनाका कारण गत वर्ष चाडपर्व मनाउने माहौल थिएन । तर, यसपालि स्थिति सहज हुँदै गइरहेको छ । त्यसैले दसैँलगतै ‘कबड्डी–४’ सुटिङ सुरु भयो । अहिले म सुटिङका क्रममा मुस्ताङमा छु । मेरो तिहार सुटिङ मै बित्छ ।

यसपालि मेरो भाइटीका छैन । तर, पनि खाइपिइ रमाइलो चाहिँ गरिन्छ । देउसीभैलो रातिमा खेल्न रमाइलो हुन्छ । यहाँ सुटिङमा भाइहरू देउसी खेल्ने प्लान बनाइरहेका छन् । यहाँ एकदम जाडो छ । त्यसैले म चाहिँ आराम गर्छु होला ।

तिहारमा आफैँ घर सफा गर्छु

जीतु नेपाल, हाँस्य कलाकार

गत वर्षभन्दा यसपालि जनजीवन अलि सहज छ । त्यसैले अलि खुलेर चाडपर्व मनाउन पाइएको छ । मलाई तिहार विशेष मनपर्ने पर्व हो । अरु बेलामा जसोतसो चलिहाल्छ, तिहारमा भने घर सफा पार्ने काम आफैँ गर्छु । झ्याल, ढोकामा झिलिमिली बत्ती बाल्ने, फूलहरूले सजाउने, देउसी भैलो खेल्न आउनेलाई दक्षिणा दिन बडो रमाइलो हुन्छ ।

पहिला नरेफाँटमा बस्दा, त्यहाँ वरपरको सबैजना मिलेर एउटा गुठी टाइपको बनाएका थियौँ । हरेक वर्षको तिहारमा हामीहरू त्यहीँबाट तीन चार घण्टा देउसीभैलो खेल्ने गरेका छौँ । यसपालि पनि देउसी खेलिन्छ । हामी छ जना दाजुभाइकी एक दिदी र एक बहिनी छिन्, उनीहरूबाट टीका लगाएर आशीर्वाद लिन्छु ।

साथीभाइका कार्यक्रममा उपस्थित हुन्छु

राजेशपायल राई, गायक

तिहार मलाई मनपर्ने पर्व हो । सधैँ भागदौडको जिन्दगीमा चाडपर्वमा घरपरिवार, आफन्तसँग भेट्घाट गर्न पाइन्छ । त्यसमाथि तिहारमा जताततै झिलिमिली बत्ती, फूलहरू र सेलको सुगन्ध, वातावरण बडो रमाइलो लाग्छ । मेरो दसैँतिहार प्रायःजसो विदेशमा बित्ने गरेको छ । यसपालि भने घरमै मनाउँछु भन्ने सोचेको थिएँ । तर, फुपुका कारण यसपटक मेरो भाइटीका छैन ।

टीका नभए पनि म साथीभाइले आयोजना गर्ने तिहारजन्य कार्यक्रमहरूमा भने उपस्थिति हुन्छु । अरु बेलामा काममै व्यस्त भइन्छ । तिहारको बेलामा भने साथीभाइहरूसँग सम्बन्ध ‘रिन्यू’ गर्ने अवसर पाइन्छ ।

 

वर्कसपले गर्दा योजना बनाउन पाएको छैन
पुष्प खड्का, अभिनेता

तिहार रमाइलोसँग मनाउने मन छ । तर, के–के गर्ने भन्ने योजना बनाउन पाएको छैन । अचेल म फेब्रुअरीमा सुटिङ हुने ‘एक्स–९’ फिल्मको वर्कसपमा व्यस्त छु । त्यसैले अरु कुराहरू सोच्न पाएको छैन ।

बहिनी यतै छिन्, त्यसैले यसपालि काठमाडौमै तिहार मनाउँछु । देउसीभैलो खेल्ने चाहना त छ । तर, भ्याइएलाजस्तो लागेको छैन । साथीभाइ, परिवारसँग बसेर खाइपिइ गर्दै तिहार मनाउनु पर्ला ।

 

धुमधामसँग मनाउँछु

वर्षा सिवाकोटी, अभिनेत्री

चाडपर्वमध्येमा तिहार सबैभन्दा रमाइलो लाग्छ । बत्तीको झिलिमिली, फूलहरूको सुगन्ध, पशुपन्छीसमेतलाई पूजा गर्ने पर्वको महत्व नै बेग्लै छ । तिहार म धुमधामसँग मनाउने गर्दछु । यसपालि पनि देउसीभैलो खेल्न आउनेहरूसँग नाच्ने, भाइटीका लगाउने योजना छ । गत बर्ष कोरोना संक्रमणको त्रासले खासै खुलेर पर्वहरू मनाउन पाइएन । यसपालि भने वातावरण सामान्य बन्दै गइरहेकाले मन खुसी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button