बागलुङ एमाले: अधिवेशनदेखि प्रतिनिधि छनौटसम्म सर्वसम्मत

पाेखरा न्यूज । नेकपा (एमाले) बागलुङले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट १२ जना प्रतिनिधि सर्वसम्मत छनौट गरेको छ । पार्टी विभाजनपछि भएको पहिलो वडा तथा स्थानीय तहको नेतृत्व छनौट सर्वसम्मत रूपमा सम्पन्न गरेको एमालले महाधिवेशन प्रतिनिधि पनि सहमतिमा छनौट गरेको हो ।

दुई महिला र चार खुला प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नं. १ बाट महिला तर्फ गण्डकी प्रदेशसभा सदस्य सावित्रा राना र गीता शर्मा चयन हुनुभएकाे छ भने खुला तर्फ गण्डकी प्रदेशसभा सदस्य एवं जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्य प्रसाद पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल र हिरा बहादुर खत्री सर्वसम्मत चयन हुनुभएकाे छ ।

एक महिला र तीन अन्यको प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नं. २ बाट महिलातर्फबाट यमुना राना, अन्यतर्फ पुराना नेता मोहनलाल शर्मा, पूर्व पार्टी उपाध्यक्ष सञ्जय शेरचन (सुनिल) र तुलसीराम अर्याल सर्वसम्मत चयन भएको नेकपा एमाले बागलुङका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिनुभयाे ।

सर्वसम्मत चयन हुनुभएका अर्याल नेकपा एकता पूर्व नेकपा माओवादी (केन्द्र) का केन्द्रीय सदस्य हुनुहुन्थ्याे । उहाँ एमालेमै रहनुभएकाे हाे । एमाले बागलुङले जिल्लाभरबाट दुई जना दलित प्रतिनिधिका लागि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर नेपाली सर्वसम्मत चयन हुनुभएकाे छ ।

क्षेत्र नम्बर २ मा निर्वाचन प्रक्रिया सुरु भएको पहिलो दिन बिहीबार नै सर्वसम्मत प्रतिनिधि चयन हुनुभएकाे थियाे । क्षेत्र नम्बर १ बाट दुई महिलाका लागि पाँच जना र चार खुलाका लागि १२ जनाले उमेदवारी दर्ता गराउनु भएकाे थियाे । उमेदवारी दिनु भएका आकांक्षीबीच छलफल गरेर सहमति मै महाधिवेशन प्रतिनिधि छनौट गरेको एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाको भनाइ छ ।

बागलुङमा पाँच हजार २६४ संगठित सदस्यमध्ये बागलुङ क्षेत्र नं १ मा तीन हजार ४०० र क्षेत्र नं. २ मा एक हजार ८६४ जना संगठित सदस्य रहेका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिनुभयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button