पोखरामा बन्दको प्रभाव : यातायात ठप्प ! बन्द गराउँदै हिँड्ने ७ जना पक्राउ

पोखरा न्यूज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।

बन्दका कारण पोखरामा सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् भने निजी सवारीसाधन पनि फाटफुट रूपमा मात्र चलेका छन् ।

मुख्य बजार क्षेत्रका पसलहरू प्राय बन्द रहेका छन् भने भित्री सडक खण्डमा केही मात्रामा पसलहरू खुलेका छन् । पोखरा बजार क्षेत्रका मुख्य मुख्य चोकहरूमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्न ठाउँ ठाउँमा सुरक्षाकर्मी खटिएको र गस्ती समेत बढाइएको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले पोखरा न्यूजलाई बताउनुभयो ।

‘हामीले सुरक्षा स्थिति मजबुत पारेका छौँ । हालसम्मको अवस्था सामान्य छ । बजारमा केही मात्रामा पसलहरू खुलेका छन्, सवारीसाधनहरू पनि केही संख्यामा चलेका छन्’, एसपी थापाले भन्नुभयो।

जिल्लामा बन्द गराउँदै हिँड्ने ७ जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । ‘हामीले पोखराका विभिन्न स्थानमा यातायात सञ्चालनमा अवरोध पुर्‍याउन खोज्ने तथा पसल बन्द गराउँदै हिँड्ने ७ जनालाई नियन्त्रणमा लिएका छौँ’, एसपी थापाले भन्नुभयो, ‘ अहिले अवस्था सामान्य छ ।’

पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा निरन्तर मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज देशभर बन्दको घोषणा गरेको हो ।

अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुला रहने र त्यसबाहेकका यातायातसहित व्यापार व्यवसाय, कलकारखाना तथा शैक्षिक संस्थाहरू लगायतका क्षेत्र बन्द आह्वान गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button