तनावमुक्त जीवनको रहस्य: विपश्यना

२०७८ असोज २५ गते सबै जना भोलिपल्टको लागि फूलपाती भित्राउने धुनमा तयारी गर्दै हुनुहुन्थ्यो । दुई वर्षको लकडाउन पछि बल्ल बल्ल खुलेको देश । ठुलाबडाको हातबाट दसैँको टिका थापी आशीर्वाद लिने अनि बिदाको मेलो पारि केही देशाटन गर्ने सुरमा बजार पनि निकै भरिभराउ थियो ।

व्यापारीहरू व्यापारमा व्यस्त, अनुहारमा केही उज्यालो देखिन्थ्यो । म भने असोज २६ गते फूलपाती कै दिनबाट दश दिनका लागि भूमिगत हुँदै थिएँ । घर परिवार, चाडबाड, काम व्यापार केही नसोची, कसरी समय मिलाउने, मनमा चिन्ता केही नलिई पाल्पाको रमणीय स्थान मदन पोखरा, शिखर डाँडामा अवस्थित धम्मसीस विपश्यना केन्द्र पाल्पामा विपश्यनाका लागि लागे ।

नेपाल लगायत विश्वमा कोरोनाको पहिलो लहर आएको डेढ वर्षभन्दा बढी भइसकेको छ । घरमा बस्दा, घरबाट काम गर्दा, व्यवसायमा मन्दी आउँदा तिर्नु पर्ने ठाउँबाट दबाब अनि लिनु पर्ने स्थानबाट पर्खने आश्वासनहरूले मानिसलाई तनाव हुन थाल्छ । खैर, यहाँ समस्या कोरोनाको कारण आएका समस्या थिएनन् । यहाँ त समस्या थियो मानसिक तनावको । हो जसलाई पार गर्न र १० दिनको यो नयाँ अनुभव बाँच्न म त्यहाँ गएँ ।

मेरो सामीप्यता लुम्बिनी सँग भएकोले पनि मैले विपश्यनाको लागि लुम्बिनीमा जान चाहेँ तर सिट पूरा भइसकेकोले पाइएन । त्यहीँबाटै पाल्पाको जानकारी पाएर म १० दिनको कोर्सको लागि मेरो जन्म जिल्ला पाल्पा गएँ ।

विपश्यना अनुभव गर्ने सबैका अनुसार, यदि कुनै कारणले तपाईँलाई मानसिक तनाव जस्तो अनुभव भइरहेको छ, वा तपाईँको काम गर्ने क्षमता पहिलेको तुलनामा धेरै कम भएको जस्तो देखिन्छ भने, तपाईँले निश्चित रूपमा विपश्यना कोर्सका बारेमा विचार गर्नुपर्छ ।

विपश्यना के हो ?
सामान्यतया, हामी जीवनमा घट्ने घटनाहरूलाई हाम्रो फाइदा वा नोक्सानको दृष्टिकोणबाट हेर्छौँ । त्यसमा आफ्नो फाइदा देखियो भने त्यो घटनालाई राम्रो मानिन्छ र मनमा खुसीको लहर चल्छ । साथै, यदि कुनै घटना दुखद लाग्छ भने, त्यसप्रति घृणा उत्पन्न हुन थाल्छ र हामी निराश हुन थाल्छौँ । दुखी हुन थाल्छौँ । केही कुरा मनमा बारम्बार खेल्न थाल्छ । जब यो कुरा लामो समयसम्म रहन्छ, यसले मानसिक तनावको रूप लिन्छ ।

तपाईँको जानकारीको लागि, म तपाईँलाई बताउन चाहन्छु कि विपश्यना भनेको विशेष तरिकाले हेर्नु हो । संसारलाई यसको वास्तविक रूपमा हेर्नु हो । हाम्रो अगाडी जे भइरहेको छ, जस्तो भइरहेको छ, त्यसलाई कुनै लगाव बिना, कुनै चाहना बिना हेर्नु हो । पाली भाषामा यसलाई विपश्यना भनिन्छ र विपश्यना ध्यान जीवन जिउने एक धेरै सुन्दर कला हो ।

हामी धेरैलाई थाहा नहुन सक्छ कि भगवान् बुद्धले पनि विपश्यना ध्यानबाटै बुद्धत्व प्राप्त गर्नुभएको थियो । विपश्यना साधना सत्यको उपासना हो जसमा जीवन जिउने अभ्यास गरिन्छ । यो विपश्यना अनुभवले मलाई जीवनलाई हेर्ने पूर्ण नयाँ तरिका दिएको छ, सायद जुन मैले लामो समयदेखि खोज्दै थिएँ । यो मेरो कमसेकम अनुभव हो । जून तपाई पनि पाउन सक्नुहुन्छ ।

के हुन्छ विपश्यनाको यो १० दिने कोर्समा ?
विपश्यनाको पहिलो १० दिनको पाठ्यक्रम पाँच नियमहरूबाट सुरु हुन्छ, जसलाई शील भनिन्छ । यी पाँच उपदेशहरू हुन्: सत्य, अहिंसा, अस्तेय, अपरिग्रह अनि अब्रह्मचर्य ।
सत्य अर्थात् झुटो नबोल ।
अहिंसा अर्थात् काटमार हत्या नगर ।
अस्तिया अर्थात् चोरी नगर ।
अपरिग्रह अर्थात् धूम्रपान मद्यपान नगर ।
अब्रह्मचर्य अर्थात् व्यभिचार नगर ।
यी पाँच उपदेशहरू शिविरको सुरुदेखि अन्त्यसम्म पूर्ण भक्ति र धैर्यताका साथ पालना गर्नुपर्छ ।

शिविरका यी १० दिनहरूमा बोल्नु हुँदैन । यी १० दिनमा पूर्ण मौनता धारण गर्नुपर्छ । मौनता कत्तिको महत्त्वपूर्ण छ, यो यी १० दिनहरूमा र लेखको अन्त्यमा थाहा पाउनुहुनेछ । यसको फाइदा पनि शिविरपछि आफैलाई थाहा हुनेछ । यी १० दिनको पाठ्यक्रममा, हामी एक निश्चित दिनचर्या मा जुटेका थियौँ, जुन हामीले सधैँ पछ्याइ नै रह्यौँ । हामी पूर्णतया फरक १० दिने शिविरमा थियौँ । जहाँ जो कोही बाहिरी संसार कै सामीप्यतामा रहेर पहिलो पटक आफूलाई चिन्ने प्रयास गरेका हुन्छन् ।

शिविर कार्यक्रम यसरी शुरु हुन्छ:
मैले शिविरको लागि असोज २६ देखि कार्तिक ६ गते रोजेको थिएँ । यो १० दिने पाठ्यक्रम २५ गते नै सुरु भयो । २५ गते दिउँसो म त्यहाँ पुगेँ । अन्य १७ वर्ष बाट ८२ वर्ष सम्मका मानिसहरू भाग लिन त्यहाँ पुग्नु भएको रहेछ । सबै जनाले आफू सँग भएका ल्यापटप, मोबाइल आदि इलेकट्रोनिक सामानहरू आयोजकलाई बुझाउँदै हुनुहुँदो रहेछ, म पनि त्यही गरेँ ।

यो १० दिनको लागि हामीबाट यी सामान लगायत कुनै कागज वा कलम समेत टाढा हुँदा रहेछन् । हामीसँग केवल कपडा र धुने सामानहरू मात्र राख्न पाइँदो रहेछ । निवासका लागि हामीलाई सबै आधारभूत कुराहरू भएको एउटा कोठा दिइयो । २५ गते साँझको खाजा पछि, हामी हलमा भेला भयौँ, जहाँ हामीलाई आउँदो १० दिनको बारेमा विस्तृत रूपमा जानकारी दिइयो ।

“हामी तपाईँबाट आशा गर्दछौँ कि तपाईँहरूले कसैलाई पनि अनावश्यक रूपमा दुख दिनु हुने छैन, मौन रहनुहुनेछ । आर्य मौन जसमा मौखिक बोली, इशारा अनि अन्य कसै सँग छोइन समेत हुँदैन । यदि तपाईँलाई केही सोध्ने इच्छा बनेछ भने, तपाईँ शिविरमा संलग्न स्वयंसेवकहरू सँग धेरै थोरै शब्दहरूमा सोध्न सक्नुहुनेछ ।” भन्दै सिकाउँदै हुनुहुन्थ्यो स्वयं सेवक । यसपछि लगत्तै ठूलो हलमा ध्यान गर्न भनियो ।

रातको ९ बजे अन्तिम घण्टी बज्दा सुत्ने बेला हुँदो रहेछ । मैले अहिल्यै भन्दै छु कि तपाईँलाई यो दिनचर्या गाह्रो लाग्न सक्छ, तर जब तपाईँ विपश्यना गर्नुहुन्छ, अनि लाग्छ यो पढ्दा जस्तो गाह्रो रहेनछ । किनकि मैले आफैँले अनुभव गरेको छु, त्यसैले ढुक्क साथ भन्न सकेको छु ।

अव को दिन चर्या बिहान ४ बजेको पहिलो घण्टीबाट सुरु हुन्छ । शौच लगायतका दैनिकी सकाउँदा दोस्रो घण्टी ४ः३० मा बज्छ । अव हामी अर्को दुई घण्टाका लागि ठूलो हलमा ध्यानका लागि जानु पर्छ जसलाई धम्महल नामाकरण गरिएको छ । ध्यानको ढाँचा हरेक दिन परिवर्तन हुँदो रहेछ, जुन हामीलाई दिनहुँ बताइने गरियो । मलाई जस्तै तपाईँलाई पनि ध्यानको विधिको बारेमा विस्तृत रूपमा जानकारी नहुन सक्छ । तर नआत्तिनुस्, अनि कतै सिक्ने प्रयास पनि नगर्नुस् किनकि यस शिविरमा ध्यानको सही विधि सिकाइन्छ, जसले तपाईँलाई ध्यान गर्न सजिलो बनाउँछ र ध्यानको बारेमा बनेको पुरानो धारणा पनि तोडिन्छ । ६ः३० मा ध्यान सकिएपछि हामी बिहानको खाजामा गयौँ ।

अव हामी सँग १ः३० घण्टाको समय आरामको रहन्छ । यसमा बिहानको खाजा बाहेक नुहाउने र आफूलाई ताजा बनाउने काम पनि गर्न सकिन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म फेरी ध्यान गर्नुपर्छ । ११ बजे हाम्रो खानाको समय रहन्छ । दिउँसो १२ बजेबाट १ बजे सम्म आफूलाई आएका जिज्ञासा केवल गुरु सँग साट्न हलमा जान सकिन्छ । अन्यथा निवासमा आराम गर्न सकिन्छ ।

१ बजेको घण्टीले पुनः धम्महलमा बोलाउँछ । अव ४ घण्टाको ध्यान का लागि हामी जुट्छौँ । जुन तीन सत्रहरूमा पूरा हुन्छ । यी तीन सत्रहरूका बिचमा ५ मिनेटको ब्रेक दिइएको हुन्छ आरामका लागि । बेलुकी ५ बजे खाजा खाने समय हुन्छ । साँझको खाजामा फलफूल, चिया, कागती र अन्य चीजहरू पाइन्छ ।

६ बजे पुनः ध्यानका लागी हलमा गइन्छ । ६ बजेदेखि ७ बजेसम्म एक घण्टा ध्यान गर्नुपर्छ । साँझ ७ बजेदेखि ८ः३० बजेसम्म गुरु यस यन गोयंकाले ध्यानमा संलग्न व्यक्तिहरूको धार्मिक, आध्यात्मिक भ्रमहरू हटाउँछन् र ध्यानमा हुने कठिनाइहरूको बारेमा पनि चर्चा गर्छन् । साँझको आधा घण्टाको ध्यान सत्र धेरै महत्त्वपूर्ण हुन्छ किनभने यसमा एस. एन. गोयंकाले अर्को दिन कसरी ध्यान गर्ने भनेर बताउँछन् ।

हामीले यो दिनचर्या बाँकीका ९ दिनसम्म नै पालना गर्‍यौ । चौथो अनि दसौँ दिनमा केही विशेष भयो, जसको बारेमा म यहाँ चर्चा गर्न सक्छु, । तर म चाहन्छु तपाईँ शिविरमा जानुहुनेछ अनि आफैले सिक्नुहुनेछ, तपाईँले आफै सिकेको ज्ञानले तपाईँलाई धेरै रमाइलो महसुस हुनेछ । मैले यहाँ ध्यानको ढाँचाको बारेमा बताइरहेको छैन किनभने यही नै सम्पूर्ण शिविरको आधार हो, जुन त्यहीँ बसेर सिक्नुपर्छ । म यति मात्र भन्न सक्छु कि यस १० दिनको स्व अनुभव पछि तपाईँको यस संसारलाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुनेछ । तपाईँले संसारको बारेमा रचेका धेरै मिथकहरू चकनाचुर हुनेछन्, त्यसपछि तपाई वास्तवमै खुसी र स्वतन्त्र महसुस गर्नुहुनेछ । अनि जीवनको आनन्द अनुभूति गर्न सक्नुहुनेछ ।

विपश्यनासँग सम्बन्धित केही मिथ्या :
विपश्यना प्रायः बौद्ध धर्मसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ, जसलाई पछ्याएर तपाईँ आफ्नो धर्मबाट टाढा जानुहुन्छ वा आफ्नो धर्म मन पराउन छोड्नुहुनेछ । यस्तो पटक्कै होइन । म व्यक्तिगत रूपमा विश्वास गर्छु कि विपश्यना मार्फत तपाईँले आफ्नो धर्मसँग सम्बन्धित धेरै कुराहरू जान्नुहुनेछ ।

जुन तपाईँले पहिले कथाको रूपमा जान्नुहुन्थ्यो, भित्रबाट धेरै जान्न र यसको वास्तविक ज्ञानमा पुग्नको लागि यो विपश्यना पुलका रूपमा रहनेछ । विपश्यनाको बुद्ध धर्मसँग कुनै सम्बन्ध छैन । यो सिद्धार्थ गौतमले सुझाएको ध्यान मार्ग मात्र हो जसद्वारा भित्री आशक्ति, ईर्ष्या, द्वेष, इच्छा, विकारबाट मुक्ति प्राप्त गरी सुखी जीवन बिताउन सकिन्छ ।

यो मात्र साँचो हो कि यो १० दिनको समयमा, हामीलाई हाम्रो धर्म सँग सम्बन्धित क्रियाकलाप गर्न निषेध गरिएको छ । तर १० दिनपछि हाम्रो विश्वासका आधारमा आफ्ना दैनिक धार्मिक क्रियाकलाप गर्न पूर्ण स्वतन्त्र हुनेछौँ ।

विपश्यना को १० दिन को शुल्क
यो विपश्यना कोर्सको निकै ठूलो शुल्क तिर्नु पर्छ । सायद तपाईँलाई यसका बारेमा कुनै जानकारी छैन होला, तर यो कोर्स गर्दा तपाईँको खल्ती धेरै हल्का हुन्छ । यो धेरै गाह्रो पाठ्यक्रम हो, धेरै कम मानिसहरूले यो गर्न सक्षम हुन्छन् । अनि पाठ्यक्रम जति गाह्रो हुन्छ, शुल्क पनि त्यति नै बढी हुन्छ ।

जब तपाईँ यो १० दिने पाठ्यक्रम गर्नुहुन्छ, तपाईँलाई कुनै शुल्क लगाइँदैन । ११ औँ दिनमा तपाईँलाई लाग्छ कि यो कोर्स अरूले पनि गर्न पाउनुभयो भने उहाँलाई पनि राम्रो हुन्छ, भने तपाईँले उहाँको लागि खाना इत्यादिका लागि दान गर्न सक्नुहुन्छ ।

विपश्यना ध्यानको मुख्य र महत्त्वपूर्ण पक्ष मनको शुद्धि हो । विपश्यनाद्वारा साधना गर्ने व्यक्तिमा आशक्ति, घृणा, भय, लोभ आदिबाट मुक्ति प्राप्त हुन्छ । विपश्यनाबाट मैले धेरै कुरा सिकेको हुनाले र तपाईँसँग बाँड्न मन लागेकोले मेरो अनुभव यहाँ बाँडिरहेको छु । यदि तपाईँलाई पनि मन पर्‍यो भने जीवनमा एक पटक विपश्यना प्रयास गर्नुहोस् ।

भव तु सब्ब मंगलम् ।।

उपेन्द्र अधिकारी
मोटिभेसनल स्पिकर
९८५६०२५६३३
सिइओ अवाकस मेण्टल म्याथ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button