एमाले महाधिवेशन: १४ पार्किङस्थल, २२ सय सुरक्षाकर्मी परिचालन

मध्याह्न १२ बजे महाधिवेशनको उद्घाटन

पोखरा न्यूज ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ ।

एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताउनुभयो  ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुनुहुनेछ  । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुने तय भएको छ ।

महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ । बन्दसत्र सौराहामा हुनेछ ।

महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।

१४ पार्किङस्थल, २२ सय सुरक्षाकर्मी

महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो  । उहाँका  अनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ ।

महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘आपटारी, बसपार्क, गैडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’

छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उहाँले बताउनुभयो  । उहाँका अनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ ।

‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्शकताअनुसार प्रटोकोलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौं,’ एआईजी थापाले भन्नुभयो, ‘भीडमा पनि ठाउँ ठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्व अफ पोइन्ट, कर्डेनहरु राखेका छौं । विमानस्थलमा कर्डन छ । उहाँहरुको स्यवंसेवक छ । विभिन्न कर्डेनहरु परिचालित छ ।’

उहाँका  अनुसार सशस्त्र प्रहरी ६ सय जति परिचालित छ । सशस्त्रका एआईजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button