पोखराको गण्डकी हस्पिटलमा बिरामी बालबालिका कै अघि बग्छ शौचालयको दिसापिसाव

एक वर्षदेखि बालबालिका, गर्भवती तथा सुत्केरी महिलादेखि कर्मचारीसम्म जोखिममा

पोखरा न्यूज । पोखराको सरकारी अस्पतालमा झण्डै एक वर्षदेखि शौचालयको पाइप फुटेर दिसापिसाव खुल्ला स्थानमा फैलिएको छ । गण्डकी हस्पिटल भनेर चिनिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दिनहुँ बिरामी र कुरुवा ओहोरदोहोर गर्ने मुख्य स्थानमै शौचालयको पाइप फुटेर दिसापिसाव बगिरहेको छ ।

गण्डकी प्रदेशकै प्रमुख अस्पतालको नवनिर्मित प्रसूति तथा स्त्री रोग भवन र पोषण पुनस्थापन गृहको बिच भागमा पोषण गृहतर्फको शौचालयको पाइप फुट्दा दिसापिसाव छरपस्ट फैलिएर दुर्गन्धित बनेको छ । जसका कारण अस्पतालमा आउने बिरामी र कुरुवालाई संक्रमणको जोखिम मात्र बढेको छैन, पोषण गृहमा कुपोषण भएर उपचारका लागि भर्ना गरिएका बिरामी बच्चालाईसमेत उच्च संक्रमणको खतरा बढेको छ ।

ढल फुटेर दिसापिसाव छरपस्ट भएको ठाउँ हुँदै दिनहुँ सयौँको संख्यामा गर्भवती महिला तथा नवजात शिशुलाई लिएर आफन्त आवतजावत गर्ने गर्दछन् । अस्पतालमा कुपोषण भएर भर्ना भएका बालबालिकाले खाने खाना पकाउने भान्सा तथा उनीहरू खेल्ने कोठाको अगाडि नै दुर्गन्धित दिसापिसाव बगिरहेको छ । मास्कको प्रयोग गरेर हिँड्ने व्यक्तिलाई समेत दुर्गन्ध खप्न गाह्रो हुने उक्त स्थानमा बगेको दिसापिसावमा अरूको आँखा नपरोस् भनेर महिनौँदेखि प्लाइउडले छोपिएको छ ।

दिसापिसावको अत्याधिक दुर्गन्धका कारण उक्त भाग हुँदै हिँड्ने बिरामीले बान्ता समेत गर्ने गरेको देखेको अस्पतालमा सुत्केरीलाई भर्ना गरेर बस्नुभएका तनहुँका दीपक पौडेलले बताउनुभयो । ‘म यहाँ आएको चार दिन भयो । दिनहुँ यहाँ दुर्गन्ध बढेको बढ्यै छ । हिजो त एक महिलालाई बान्ता नै भयो । सरकारी अस्पताल भनेर हो की किन यसरी बेवास्ता गरेको ?’ पौडेलले प्रश्न गर्दै भन्नुभयो ।

उक्त स्थानमा ढल फुट्दा पोषण गृहमा काम गर्ने कर्मचारीसमेत प्रभावित भएका छन् । पोषण गृहको पश्चिमतर्फको भागमा गत फागुन महिनादेखि ढल फुट्दा पोषण गृहमा काम गर्ने कर्मचारी र त्यहाँ रहेका बालबालिकालाई गम्भीर असर परिरहेको पोषण गृहका व्यवस्थापक निरमाया गुरुङ बताउनुहुन्छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा वर्ष दिनदेखि ढल फुटेर दुर्गन्ध फैलिरहँदा तपाईँले के हेरेर बस्नुभएको छ ? भन्ने हाम्रो प्रश्नमा व्यवस्थापक गुरुङले उल्टो गुनासो व्यक्त गर्दै भन्नुभयो– ‘मैले फागुनमा नै यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न भनेकी थिएँ । पछि साउन अन्तमा मलाई माग फाराम भरेर पठाउन भनियो । सोही अनुसार भरेर पनि अस्पतालका निर्देशक डा. भरत खत्रीको हस्ताक्षरसमेत गराएर बुझाएको हो । तर, आजसम्म सुनुवाई भएको छैन ।’

गुरुङका अनुसार पोषण पुनस्थापना गृहबाट गत साउन ३२ गते जरुरी प्रकृतिको ब्यहोरा उल्लेख गर्दै ढल फुटेको जानकारीसहित निर्देशक खत्रीको हस्ताक्षरसहित अस्पतालको मर्मत शाखामा माग फाराम भरेर पेस गरिएको हो ।

व्यवस्थापक गुरुङले यस सम्बन्धमा पटक पटक सरोकारवालाहरूसँग प्रश्न गर्दा प्रक्रिया अघि बढेर टेण्डरमा गएको भनिए पनि वर्ष दिन बित्न लाग्दासमेत कुनै काम नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले माग फाराम भरेर पठाएपछि पनि धेरै पटक यसबारेमा सोधेँ । तर, काम हुँदैछ, हुँदैछ मात्र भनियो । हामी यहाँ अत्याधिक दुर्गन्ध फैलिएका कारण जाडोमा फ्यान चलाउँदा पनि बस्न सकिने अवस्था छैन ।’

उहाँले पोषण गृहमा ढलको मात्र नभई सो फिट, सेप्टी ट्याङ्की, ट्वाइलेट तथा बेसिनमा समेत ठूलो समस्या रहेको उल्लेख गर्दै यी सबै समस्याको बारेमा सरोकारवालालाई बारम्बार जानकारी गराउँदा समेत सुनुवाई नभएको बताउनुभयो ।

सो सम्बन्धमा अस्पतालका बाल रोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलासँग बुझ्दा आफूले पोषण गृहबाट आएको गुनासोलाई अस्पतालका निर्देशकसम्म समयमै पु¥याएको बताउँदै कार्य प्रगतिका बारेमा अस्पतालका निर्देशकलाई नै बुझ्न सुझाउनुभयो ।

यता, अस्पतालका निर्देशक डा. भरत खत्रीले भने आफूलाई सो बारेमा केही समयअघि मात्रै थाहा पाएको भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो । उहाँले उक्त क्षेत्रमा प्लाइउडले बारेको देखेपछि सोध्दा मात्र त्यहाँ ढल फुटेको जानकारी पाएको भन्दै हाँस्यास्पद प्रतिक्रिया दिनुभयो ।

उक्त क्षेत्रमा झण्डै एक वर्षदेखि ढल फुटेर दुर्गन्ध फैलँदासमेत तपाईँले थाहा पाउनुभएन भन्न मिल्छ ? भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो – ‘यसको कुनै सोलुसन नै छैन । मिडियामा छाप्न परे छाप्नुस्, मलाई फरक पर्दैन ।’

नवजात शिशु ,गर्भवती तथा सुत्केरी महिला र कुपोषण भएका बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई समेत नजर अन्दाज गर्दै अस्पतालका निर्देशक डा. खत्रीले आफ्नो जिम्मेवारीको प्रवाह नगरी प्रतिक्रिया दिनुभएको छ । उहाँको यस्तो अभिव्यक्ति पछि हामीले उहाँको जिम्मेवारी सम्झाउँदै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा दिशापिसाव बगेर दुर्गन्ध फैलिएको छ कहिले हटाउनुहुन्छ भन्दा उहाँले भन्नुभयो, ‘त्यहाँ नजिकै क्यान्टिनको बिल्डिङ बन्दै गरेको छ । त्यो बिल्डिङ बनेपछि त्यहीबाट डाइभर्ट गरेर ढल पास गराउँछौँ ।

उक्त बिल्डिङ बन्न अझै ३ देखि ४ महिना लाग्ने भन्दै उहाँले अरू केही गर्न नसक्ने बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button