शैक्षिक भ्रमणका लागि गएको जीप दुर्घटना हुँदा ३ को मृत्यु, ८ घाइते

पोखरा न्यूज । लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे हुँदै पिसहिल जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप बिहीबार भुष्मेको गोया खोल्सामा साढे ११ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना मगर, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका–९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ र सोही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिप लिएर पिस हिलमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको मध्ये एउटा जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका आठ जनामध्ये ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । जिपमा सवार १७ जना रहेकोमा मर्स्याङ्दी–९ बस्ने १४ वर्षीय विवेक विक र सोही ठाउँका ४७ वर्षीय चालक वीरेन्द्र थापाको टाउकोमा चोट लागेकाले जिल्ला अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारको लागि मनकामना अस्पताल चितवन रिफर गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीको भनाई छ ।

जीप सडकबाट १ सय २० मिटर तल खसेको थियो । साँघुरो बाटोमा जीप ब्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button