समाचार प्रभावः गण्डकी हस्पिटलको दिसापिसावसहितको दुर्गन्ध एक वर्षपछि हट्दै

पोखरा न्यूज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा करिब एक वर्षअघिदेखि फुटेको शौचालयको पाइप मर्मत कार्य शुरु भएको छ ।

अस्पतालको नवनिर्मित प्रसूति तथा स्त्री रोग भवन र पोषण पुनस्थापन गृहको बीच भागमा पोषण गृहतर्फको शौचालयको पाइप फुट्दा दिसापिसाव छरपस्ट फैलिएर दुर्गन्धित बनेको लामो समयसम्म पनि अस्पताल प्रशासनले चाँसो नदेखाएपछि सो सम्बन्धमा पोखरा न्यूजमा समाचार प्रकाशित भएको थियो ।

दिनहुँ बिरामी र कुरुवा ओहोरदोहोर गर्ने मुख्य स्थानमै एक वर्षदेखि शौचालयको पाइप फुटेर दिसापिसाव छरपस्ट बगिरहँदा मुकदर्शक बनेको अस्पताल प्रशासनलाई खबरदारी गर्दै पोखराको गण्डकी हस्पिटलमा बिरामी बालबालिका कै अघि बग्छ शौचालयको दिसापिसाव, एक वर्षदेखि बालबालिका, गर्भवती तथा सुत्केरी महिलादेखि कर्मचारीसम्म जोखिममा शीर्षकमा सोमबार समाचार सार्वजनिक भएको हो ।

समाचार प्रकाशित भएसँगै अस्पताल प्रशासनले उक्त क्षेत्रमा मर्मत कार्य सुचारु गरेको छ । समाचार प्रकाशित भएको भोलिपल्ट नै प्रशासनले सो क्षेत्रमा मर्मत शाखा हुँदै ठेकेदार कम्पनीमार्फत काम शुरु गराउन  नापजाँच थालेको थियो ।ठेकेदार कम्पनी सिभिल टेक् कन्स्ट्रक्सनले शुक्रबारदेखि पाइपबाट आएको शौचालयको दिसापिसावलाई डाइभर्ट गर्ने गरी काम शुरु गरेको छ ।

अस्पतालका  पोषण पुनस्थापन गृहका व्यवस्थापक निरमाया गुरुङले मंगलबारबाट नापजाँच शुरु गरिएकोमा शुक्रबार मर्मत कार्यको थालनी भएको बताउनुभयो । ‘मैले उहाँहरुलाई मंगलबारबाट नापजाँच गर्दा देखेको थिए’, व्यवस्थापक गुरुङले भन्नुभयो , ‘आजबाट यहाँ मर्मत कार्यका लागि काम नै शुरु भएको छ ।’

सो सम्बन्धमा अस्पतालका मर्मत शाखा प्रमुख सुनिल अधिकारीलाई सोध्दा पाइप फुटेर दिसापिसाव छरिदै आएको  क्षेत्रबाट पोषण गृहको मूख्यद्वार हुँदै अण्डरग्राउण्ड गरेर डाइभर्ट गर्न लागिएको बताउनुभयो । ठेकेदार कम्पनीले लगातार काम गर्दा एक साताभित्रमा डाइभर्सनको काम सम्पन्न हुने र अहिले देखिएको समस्या समाधान हुने अधिकारीको भनाई छ ।

समाचार प्रकाशित भएपछि मात्र काम शुरु गर्नुपर्ने हो ? भन्ने हाम्रो प्रश्नमा मर्मत शाखा प्रमुख अधिकारीले आफूहरुले टेण्डर प्रक्रियामार्फत् काम अगाडि बढाएको भएपनि खरीद शाखा हुँदै थप प्रक्रिया पूरा गरेर आउन ढिलाई भएको जिकिर गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button