
पाेखरा न्यूज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा प्रतिस्पर्धामा देखिनु हुने छैन। महाधिवेशनको उदघाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो । तर, संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएकाे हाे ।
शनिबार बिहान बोहोराटारस्थित आफ्नो निवासमा कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट पार्नुभयाे । भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थिति हुनुहुन्थ्याे ।
लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको साझा उम्मेदवारी दिने जनाउनु भएकाे थियाे । तर, अन्तिम समयसम्म पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले ‘वाकओभर’ गर्नुभएकाे हाे । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाउनु भएन।
उमेरले ८१ वर्ष लाग्नुभएका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताउनु भएकाे थियाे । ‘आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें । आजदेखि तपाईहरू आ-आफ्नो संरक्षण गर्नुहोस् । अब राजनीतिक प्रतिस्पर्धा रहिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी पत्रकार अजयबाबु शिवाकोटीले भन्नुभयाे ।
१३औं महाधिवेशनमा उहाा सभापतिका उम्मेदवार हुनुहुन्थ्याे। उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएकाे थियाे । तर, उहाँ दोस्रो चरणको मतदानमा पराजित हुनुभएकाे थियाे ।





