
पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी छ । त्यसपछि उम्मेदवारहरू महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न लाग्नेछन् । हुन शनिबार मनोनयन दर्ता गरेसँगै भोट माग्ने क्रम जारी छ ।
तर, यसपटकको महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाका चर्चित सारथीहरू आफूलाई मत माग्न महाधिवेशनस्थलमा देखिनु भएन । जसमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा.नारायण खड्का, एनपी साउद, रमेश लेखक, मिन विश्वकर्मा, शंकर भण्डारी, मोहनबहादुर बस्नेतहरूलगायत हुनुहुन्छ ।
कार्की सञ्चारमन्त्री, खाँण गृहमन्त्री र खड्का परराष्ट्रमन्त्री हुनुहुन्छ । साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ । यी सबै १४औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी हुनुहुन्थ्याे । तर, कसैले पनि पदाधिकारीको टिकट पाउनु भएन । महामन्त्रीमा खाँण र कार्कीको हानथापले डा.प्रकाशशरण महतले बाजी मार्नुभयाे । लेखकले त आफैं गएर केन्द्रीय सदस्यको मनोनयनसमेत दर्ता गराउनु भएन। महाधिवेशनस्थलमै भएर पनि उहाँले वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभयाे । विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी नै फिर्ता लिनुभयाे । देउवाकाे सूचीमा नअटेका कारण उहाँले मनाेनयन फिर्ता लिनु भएकाे हाे ।
देउवा अहिलेसम्म कांग्रेसमा बलियो हुनुमा कार्की, खाँण, खड्का, साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेतको धेरै हात छ । बस्नेत विरामी भएकाले चुनावमा त्यति सक्रिय हुन सक्नुभएकाे छैन। तर, खड्काले त केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दर्ता गराउनु भएन । आखिर किन देउवाले आफ्ना चर्चित सारथीहरूलाई पदाधिकारीमा लैजानु भएन त ? देउवा निकट एक नेताका अनुसार अहिले संस्थापनमा कृष्णप्रसाद सिटौलाको हालीमुहाली बढेको छ । यसले गर्दा पनि कोही खुलेर महाधिवेशनमा प्रचार प्रसारमा लाग्नुभएकाे छैन ।
सिटौला प्रभावशाली हुँदै जाँदा कोइराला समूहबाट शैलजा आचार्य, चक्र बाँस्तोला, भीमबहादुर तामाङ, गोविन्दराज जोशीहरू विस्थापित हुनुभयाे । अब सायद रमेश लेखक, एनपी साउदहरू देउवा शिविरबाट बाहिरिन सक्ने अनुमान गर्न थालिएको छ । आफ्ना बलिया सारथीलाई केन्द्रीय सदस्यको उम्मेदवारमै खुम्चिन बाध्य पारेको असर निर्वाचनमा देखिन सक्ने ती नेताको भनाइ छ ।





