चितवन बन्दको प्रभाव सामान्य, १३ बन्दकर्ता पक्राउ

कुलप्रसाद काफ्ले/ चितवन । एमसीसी सम्झौता खारेजीको माग गर्दै मंगलबार आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको छ । विभिन्न १३ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेको हो ।

 

बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन् । लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू पनि तुलनात्मक रुपमा कम चलेका छन् । छोटो दुरीका सवारीसाधन भने ठप्प छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने १२ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्तालाई नारायणगढको लायन्सचोक र पूर्वी चितवनको भण्डाराबाट नियन्त्रणमा लिएको हो ।

जबर्जस्ती बन्द गराउँदै हिँडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयाे । पक्राउ पर्नेमा सन्देश पौडेल, प्रकाश ढकाल, बद्रीनाथ अधिकारी, डम्बर पुरी, राजुप्रसाद पौडेल, सुरेश गौतम र रेशम थापा रहेका छन् ।

त्यस्तै, अनिल परियार, कृष्ण सुनार, अशोक शर्मा, घननाथ सापकोटा, राम सेढाई र ओमप्रसाद डल्लाकोटीलाई पनि नियन्त्रणमा लिइएको उहाँले बताउनु भयाे । पक्राउ परेकाहरूलाई साँझ रिहा गरिने उहाँको भनाइ छ ।

पक्राउ परेका बन्दकर्ताको रिहाई र एमसीसी सम्झौता खारेजीको माग गर्दै नारायणगढमा प्रदर्शन गरिएको छ । ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी दलाल होसियार’लगायतका नारा लगाएर र्‍यालीसमेत निकालिएको थियो ।

लायन्सचोकबाट सुरू भएको र्‍याली पुलचोक पुगि पुनः लायन्सचोकमा आएर समापन भएको हो । एमसीसी सम्झौता नेपाल र नेपालीको हित विपरित रहेकाले खारेजीको माग गरेको एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताउनुभयाे ।

‘जनताले विगतमा गरेको दबाबले अहिलेसम्म एमसीसी पास हुन सकेको थिएन । तर, अहिले पारित गर्नका लागि विभिन्न षड्यन्त्र बनाइएको छ’, उहाँले भन्नुभयाे, ‘जनताले शसक्त ढंगले यसको विरोध गरेनन् भने विदेशी दलालले यो राष्ट्रघाती सम्झौता पास गर्ने तयारीमा छन् ।’

एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको माओवादी, ऋषि कट्टेल समूहको माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका दलले ऐक्यबद्धता जनाएको उहाँले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button