
पाेखरा न्यूज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाउनु भएकाे छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभएकाे छ ।
‘अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो,’ उहाँले भन्नुभयाे ।
नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन पालना नगरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने निर्णय बुधबार गरेको थियो ।
यसैगरी प्रचण्डले भेटमा सदन सूचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सहमति जुटाउन प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएकाे थियाे ।
साथै नेपाली कांग्रेसको महाधिवेशनबाट सभापति निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।





