घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी 

पाेखरा न्यूज । मनाङ ङिस्याङ गाउँपालिका-८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनिता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसक्नु भएकाे छ । मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झर्नुभएकाे हाे। जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका छन् ।

माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरू यस वर्ष भने छिटै जाडो बढेकाले मंसिर अन्तिममै जाडो छल्न सहर झरेका हुन् । मनाङवासीको यो परम्परागत चलन रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले बताउनुहुन्छ । मनाङवासी अधिकांशकाे लमजुङको बेसीसहर, चितवन, पोखरा, काठमाडौलगायतका सहरमा घर छ । उनीहरू मनाङमा भएको घरलाई कुरुवाको जिम्मा लगाएर तल झर्ने गर्दछन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

घर मालिकहरू तल झरेपछि घर कुरुवाहरू घरको सुरक्षा गरेर बस्ने मनाङको पहिल्यैदेखिको चलन भएको हाे । “जाडो सुरु भएसँगै मनाङमा भएका वृद्धवृद्धा र बच्चाबच्चीले मनाङ छाड्न थालिसके”, पिसाङका ध्रुव गुरुङले भन्नुभयाे, “यहाँका व्यापारी र अन्य अधवैशेहरू आफ्नो घर कुरुवालाई जिम्मा लगाएर काठमाडौं, पोखरालगायतका सहर झर्ने गर्दछन् ।” ‘

मनाङ ङिस्याङ गाउँपालिकाकी छोमा घलेले अब एकैचोटि फागुनमा ग्याल्पो ल्होसार मनाउन गाउँ फर्किने बताउनु भयाे।

माथिल्लो मनाङस्थित होटल यतिका सञ्चालक एवं पर्यटन व्यवसायीसमेत रहेका विनोद गुरुङले थोरै परिवार भएका मनाङका बासिन्दाले विश्वासिलो व्यक्तिलाई पारिश्रमिक दिएर घर कुर्न लगाउने गरेको बताउनु भयाे । “जाडो समयमा हिमपात पर्दा घरमा आएको हिउँ काटेर फाल्न र पन्छाउनका लागि घर कुरुवा राख्ने चलन छ”, गुरुङ भन्नुहुन्छ, “केही मात्रामा घरमुलीका केही सदस्यहरू आफैं घरमा बस्ने गर्दछन् भने धेरैजसो मनाङी घर कुरुवा राखेर जाडो छल्न तल झर्ने गर्दछन् ।”

माथिल्लो मनाङस्थित भ्राका-४ का पल्साङ छिरिङ विक र उनकी धर्मपत्नी ठूली विकले हरेक वर्ष मनाङीको घर कुर्दै आउनु भएकाे छ। उहाँहरू जाडोयाममा घरमालिकलाई काठमाडौं पठाउँछन् भने आफूहरू भने घर कुरेर बस्ने गर्नुहुन्छ । घरमुलीले घर कुरेबापत तलब पनि दिने गर्दछन् । यहाँ घर कुर्नेमा गोरखा, धादिङ, संखुवासभालगायत जिल्लाका छन् ।

हिमालपारिको जिल्ला मनाङको चारवटा गाउँपालिकाका स्थानीयमध्ये ५० प्रतिशत जनसंख्या जाडो छल्न काठमाडौं, पोखरा, चितवन, लमजुङ पुग्ने गर्दछन् ।  मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार माथिल्लो मनाङ गाउँमा रातको समय तापक्रम माइनस ८ देखि  १० डिग्री सेन्टीग्रेटसम्म झरेको छ । घाम नउदाउँदासम्म तापक्रम माइनसमै हुने उहाँले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button