
पोखरा न्यूज । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ र १९ मा पर्ने घार्मी, कुरेचौर—ढिकी डाँडा भुप्राङकोट पदयात्रा मार्गको प्रवर्द्धन गर्न एक दिने हाइकिङ गरेको हो ।
‘ओझेलेमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान गरौं, दिगो पर्यटन, विकास प्रवर्द्धन र संरक्षण गरौं’ भन्ने नाराका साथ शनिबार हाइकिङ गरेको हो । कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउनका साथै एक दिने पदयात्रा कार्यक्रमको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । पौडेलले यस रुटको प्रवर्द्धन गर्न भ्रमण तालिका बनाई आफ्ना सदस्य कम्पनीमार्फत अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिने बताए ।
कार्यक्रममा पूर्व मन्त्री तथा संघीय सांसद जगत विश्वकर्माले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दीर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकी डाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रवर्द्धन गर्न दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले पोखरा बजारबाट नजिकमा रहेर पनि ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्नुपर्ने बताए । ‘यस्ता कार्यक्रमले पदयात्रा मार्गको प्रवर्द्धन गर्न सहयोग गर्नेछ’ आचार्यले भने,‘ आगामी दिनमा टानसँग सहकार्य गरी पदयात्रा मार्गको प्रवर्द्धन गरिनेछ ।’ स्थानीय पर्यटन व्यवस्थापन समितिका उपाध्यक्ष डिल्ली पौडेलले पदमार्गको प्रवर्द्धन सँगसँगै पूर्वाधारमा पनि जोड दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा टानमा आबद्ध सदस्य कम्पनीका प्रतिनिधिहरू, पोखराका पर्यटकीय संघ संस्थाका प्रतिनिधिहरू, मजदुर सङ्गठनका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक गोपालकृष्ण सङ्ग्रौलाले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ को समन्वयमा भएको टान सचिव मिलन तिवारीले जानकारी दिए ।

घार्मीबाट सुरु भएको पदयात्रा ढिकी डाँडा, कुरेचौरहुँदै भुप्राङकोट पुगेर समापन भएको थियो । उक्त रमणीय ठाउँबाट पोखरा बजारको साथै अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने स्थानीय हरिलाल आचार्यले बताए । हाइकिङको क्रममा स्थानीयले पञ्चेबाजाका साथमा स्वागत गरेका थिए भने गर्लाङ गाउँको सामुदायिक होमस्टे समेत सहभागीले अवलोकन गरेका थिए ।





