पोखरा म्याराथन सफल बनाउने अभियानमा प्रदेश सरकारको साथ

पोखरा न्यूज । पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् ।

सफल पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरू सँगको छलफलमा मुख्यमन्त्री नेपाली उक्त कुरा बताएका हुन् । “गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको हब बनाउने कुरामा दृढ छ, यसै क्रममा पोखरा म्याराथन पनि रहेकोले यसलाई सफल बनाउने अभियानमा हाम्रो साथ सधैँ रहने छ,” उनले भने ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खेलकुद विकासका लागि नै प्रदेश सरकारले खेलकुद मन्त्रालय समेत बनाएर अघि बढाएको बताउँदै प्रदेश सरकारको तर्फबाट पोखरा म्याराथनको मुख्य संरक्षक समेत रहेका मुख्यमन्त्री नेपालीले पूर्व खेलाडीहरूले आफ्नो सिप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गरे । “पोखरा खेलकुदको महत्त्व बुझ्ने थलो भएकोले पनि पोखरा म्याराथनलाई सफल बनाउन यहाँहरूले खेल्ने भूमिकाले म्याराथन सफल हुने कुरामा म विश्वस्त छु,”उनले भने–पोखरा म्याराथन अन्तर्राष्ट्रिय खेलाडीहरूको आकर्षणको केन्द्र बनाउन सक्दो पहल गर्न र त्यसतर्फ आफ्ना कार्यक्रम अघि बढाउन म आग्रह गर्दछु ।”

सो अवसरमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गर्दै समाजमा खेलको महत्त्वबारे अझै जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले पोखरा अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गरेका अभियान लगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले १६ औँ संस्करणको पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button