
पोखरा न्यूज । पोखरामा सर्वाधिक धनराशिको टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा यही पुस ११ देखि १८ औँ प्रतियोगिता हुन लागेको हो ।
आयोजक कास्की जिल्ला टेनिस संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । विभिन्न ११ वटा इभेन्टमा हुने प्रतियोगितामा पुरुष तथा महिला सिङ्गलतर्फबाट विजेता खेलाडीले नगद ८०/८० हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्ने सो अवसरमा जानकारी दिइयो ।
दुवै स्पर्धामा उप–विजेता खेलाडीले नगद ४०/४० हजार तथा सेमिफाइनलिस्टले १०/१० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक नवीन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । पुरुष तथा महिला डवल्स तर्फ विजेताले नगद ३० हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
३५ वर्ष माथिको सिंगल्स विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहितको पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्ष माथिको डवल्स विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
४५ वर्ष माथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् भने ४५ वर्ष माथिको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले ५/५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै ५५ वर्ष माथिको सिंगल्स विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् । सोही उमेर समूहको डवल्स विजेताले नगद २० हजार, उपविजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद ५/५ हजार पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ६५ वर्ष माथिको सिंगल्स विजेताले नगद १५ हजार तथा उपविजेताले नगद १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने संयोजक चालिसेले बताए ।
प्रतियोगितामा पोखरा सहित काठमाण्डौ, भक्तपुर, हेटौडा, बुटवल, बागलुङ लगायत फरक फरक जिल्लाबाट झण्डै १ सय ३० खेलाडीले भाग लिने टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी गराए । पुरुष सिङ्गलतर्फ १२ जना, महिला सिङ्गलतर्फ ७ जना, ३५ वर्ष माथिको सिङ्गलतर्फ २१ जना तथा डवल्सतर्फ १३ टिम, ४५ वर्ष माथिको सिङ्गलतर्फ ३२ जना तथा डवल्सतर्फ २१ टिम, ५५ वर्ष माथिको एकलमा १५ जना तथा डवल्समा १३ टिम, ६५ वर्ष माथिको सिंगल्समा ८ जनाले भाग लिने पौडेलको भनाई छ ।
माछापुच्छ्रे बैक मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न झण्डै साढे १३ लाख खर्च लाग्ने र त्यति नै बचत हुने अनुमान रहेको आयोजक संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष लोक गुरुङ, सचिव नवीन श्रेष्ठ लगायतले प्रतियोगिताका बारेमा जानकारी दिलाएका थिए ।





