
पोखरा न्यूज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जनताको हितका कार्य गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताएका छन् ।
रुपाताल तमु समाजले पोखरा–३२ खोलाको छेउमा आयोजना गरेको चौथो साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता एवं ब्याडमिन्टन प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन ।
गण्डकी प्रदेश प्राकृतिक सुन्दरता जस्तै कला संस्कृतिको हिसाबले पनि धनी रहेको बताउँदै यसको संरक्षणको लागी प्रदेश सरकार हातेमालो गरेर अघि बढ्न तयार रहेको मन्त्री खड्काले बताए।
कला संस्कृतिको संरक्षण सँगै खेलकुद र विकास निर्माणमा संस्थाले गर्दै आइरहेका कार्यहरूको प्रशंसा गर्दै मन्त्री खड्काले अन्य सामाजिक संस्थाहरूले पनि यसको अनुसरण गर्नुपर्ने बताए ।
कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नवीन पुनले खेल क्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउँदै खेलकुद क्षेत्रमा देखिएका चुनौतीलाई अवसरको रूपमा लिएर खेल क्षेत्रको विकासका लागि क्रियाशील हुनुपर्ने बताए ।
संस्थाका अध्यक्ष चेस बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव भीम बहादुर गुरुङले गरेका थिए ।
भलिबलमा एजु यूथ क्लब र नव किरणको विजयी शुरुवात
शुक्रबार सम्पन्न भलिबलतर्फको उद्घाटन खेलमा एजु यूथ क्लब ढुंगेपाटनले विजयी शुरुवात गरेको छ । जन कल्याण यूथ क्लबलाई २२–२५ र २४–३६ को सोझो सेटमा हराउँदै ढुंगेपाटनले विजयी यात्रा तय गरेको हो ।
यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा नव किरण यूथ क्लब दमौलीले आयोजक रुपाताल तमु समाज बि लाई १५–२५ र २४–३६ ले हराएको छ ।
भलिबल तर्फका बाँकी खेलहरू एवं ब्याडमिन्टन प्रतियोगिता शनिबारबाट हुने आयोजकले जनाएको छ ।





