
पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालमा मनाइने चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबिच सद्भाव र समन्वयका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
ख्रीष्टियन समुदायको महान् पर्व ख्रीष्टमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ , ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रीस्टियन समुदायमा यस पर्वको पावन अवसरमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’
राजनीतिक परिवर्तनसँगै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अङ्गीकार गरेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेपालको संविधान २०७२ ले धर्म निरपेक्षतालाई आत्मसात् गर्दै जुनसुकै धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति संविधानले गरेको समेत सन्देशमा मुख्यमन्त्रीले जनाउनुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ , ‘दुई शतक अगाडि येशु ख्रिस्टले दिनुभएका सन्देशमूलक उपदेश अझै पनि हाम्रा लागि उपयोगी छन् । यस पर्वले सबै नेपालीबिच आपसी प्रेम, बन्धुत्व, एकताको भावना बढाएर शान्त र समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’





