
पाेखरा न्यूज । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीति प्रतिवेदन पेस गर्नुभएकाे छ ।
उहाँले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ ।
प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्नुभएकाे छ ।
प्रतिवेदनमा उहाँले माओवादी पार्टी र नेताहरुको कमजोरीलाई समेत औंल्याउनु भएकाे छ । उहाँले नेता कार्यकर्ताको जीवनशैली र भुत्तेपनको आलोचना गर्दै आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभएकाे छ। प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसावमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गर्नुभएकाे छ ।
पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभएकाे छ ।
एमसिसीबारे के छ ?
प्रचण्डले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीबारे के उल्लेख गर्नुभएकाे छ भन्ने चासो यतिबेला उहाँका पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि रहेको छ । कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको छ र उहाँको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई पास गर्न चाहिरहनु भएकाे छ ।
देउवाले हिजो मात्रै माओवादीकै कार्यक्रममा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएको अवस्थामा प्रचण्डले प्रतिवेदनका बारेमा कस्तो व्याख्या गरेका छन् भन्ने चासो रहेको छ । उहाँले प्रतिवेदनमा एमसिसीबारे लामै लेखेर प्रष्ट पार्न खोजेको कतिपयको आकलन भए पनि यसबारे कम मात्र चर्चा गरिएको छ ।
प्रतिवेदनमा प्रचण्डले एउटा बुँदा उल्लेख गर्नुभएकाे छ । उहाँले एमसिसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गर्नुभएकाे छ ।
एमसिसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उहाँले प्रतिवेदनमा भन्नुभएकाे छ ।





