
पाेखरा न्यूज । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताउनु भएकाे छ ।
राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिनुभएकाे हाे ।
‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयाे, अनि मात्र क्रान्ति सम्भव छ ।’
साथै उहाँले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताउनु भयाे । विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूले पनि चासो राख्नुपर्ने भन्दै उहाँले उद्यमशीलतामा समय र आर्थिक खर्च गर्नुपर्नेमा जोड दिनुभयाे ।





