
पोखरा न्यूज । कास्कीको पोखरासहित गण्डकी प्रदेशका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ ।
माैसम पूर्वानुमान महाशाखाले अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा पोखरा, काठमाडाैं उपत्यका लगायत देशैभर वर्षा भएको र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको जनाएको छ ।
दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ । दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातकाे आँकलन गरिएकाे छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बिहीबार भने माैसममा केही सुधार आउने अपेक्षा गरिएकाे छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाकाे आँकलन गरिएकाे छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।





