पोखरा २४ घण्टा खुल्छ: गृहमन्त्री खाँण

पोखरा न्यूज ।  नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुलाउन सरकार तयार रहेको बताउनुभएको छ ।

बिहीबार पोखरामा सडक महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाँणले स्थानीय  सरकार, जनता तथा व्यवसायीहरूको पूर्ण साथ रहेमा पोखरालाई २४ घण्टा खुलाउन सकिने बताउनुभएको हो ।

‘तपाइहरु पोखरा चौबिसै घण्टा खुलाउने भन्नुहुन्छ , ठिक छ त्यसका लागि सरकार तयार छ तर पछि तपाइहरु मध्येबाटै यसरी किन खुलाएको भनेर विरोध हुन् भएन’, मन्त्री खाँणले भन्नुभयो ।

पोखरा चौबिसै घण्टा खुल्नुपर्छ भन्ने एकमत भएमा सरकार त्यसका लागि सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो । तर त्यसरी पोखरालाई खुलाउँदा जनताका गुनासाहरू आउन नहुने उहाँको तर्क थियो ।

मन्त्री खाँणले भन्नुभयो, ‘तपाइहरु एक थरी पोखरा चौबिसै घण्टा खुला हुनुपर्छ भन्नुहुन्छ । संसारकै पर्यटकीय नगरी पोखरा सधैँ खुला हुनुपर्छ भन्ने माग पनि ठिक हो तर यसरी खुलाउँदा भोलि यहाँका जनताले रातभर हल्ला भयो सुत्न पाइएन भन्नलान् । रोगी, औषधि सेवन गर्नुपर्ने बिरामी मान्छेहरू सुत्न नपाउलान् त्यस्तो अवस्था आउनुभएन ।’

कार्यक्रममा अतिथिका रूपमा आसीन कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मञ्च बाटै निर्देशन दिँदै मन्त्री खाँणले सरोकारवाला र सुरक्षाकर्मीसहितको तत्कालै बैठक राखेर पोखरालाई २४ घण्टा खुलाउने विषयमा छलफल गराएर निचोडमा पुर्‍याउन आग्रह गर्नुभयो ।

पोखराको कुन क्षेत्रलाई तत्काल त्यसरी खुलाउन सकिन्छ भन्नेबारे पर्यटन व्यवसायी र सरोकारवालाहरूले आफैँ छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।

‘हामीले पुरै पोखरालाई नै २४ घण्टा खुलाउन सुरक्षाका हिसाबले पनि सम्भव नहोला तर यसको थालनीका लागि कुनै एउटा भूभागलाई ट्रायलका रूपमा अघि बढाउन सकिन्छ’, मन्त्री खाँणले भन्नुभयो ।

पोखराका रेस्टुरेन्ट र होटलवालालाई दुःख नदिन गृहमन्त्री खाँणले सुरक्षाकर्मीलाई चेतावनी समेत दिनुभएको छ  । सुरक्षाकर्मीले पर्यटन व्यवसायीलाई अप्ठ्यारो हुने काम नगरी भरपुर सुरक्षा दिनुपर्ने उहाँको तर्क थियो ।

सम्बन्धित न्यूज

Back to top button