
पाेखरा न्यूज । पाेखरामा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’ सहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
बुधबार बेलुकी पोखरा महानगरपालिकाको पछाडिपट्टी पोखरा- ८ जाल्पारोडमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लाहुरेसहित ४ जनालाई पक्राउ गरेकाे थियाे ।
पक्राउ परेको दुई दिनपछि कास्की जिल्ला अदालतबाट लागुऔषध मुद्दामा आठ दिन म्याद थप गरी शुक्रबार कास्की प्रहरीले उनीहरुलाई प्रेस रिलिज मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने ३२ वर्षीय लाहुरे , पाेखरा २१ घर भई हाल पाेखरा १७ छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुब बहादुर थापा, रुपा गाउँपालिका ७ घर भई हाल पोखरा १ बगर बस्ने ३० वर्षीय बिक्की भनिने नबिन कुमार गुरुङ र स्याङ्जाकाे भिरकोट ६ घर भई हाल पोखरा ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ रहेका छन् ।
उनीहरुलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएर शरीर तलासी लिँदा बिक्कीको साथबाट लागुऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेको थियाे । प्रहरीका अनुसार उनीहरूबाट सोधपुछ पश्चात् सभागृहस्थित सुस्मिताको कोठा भित्र लुकाई छिपाइ राखेको अवस्थामा १२.५० ग्राम ब्राउनसुगर फेला परेकाे थियाे ।
उनीहरुबाट १३.०१ ग्राम ब्राउनसुगर, डिजटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोवाइल सेट ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।





