पोखरा रंगशालामा आज मनाङ र ब्रिगेड भिड्दै

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

पोखरा न्यूज । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछ । सातौँ चरणअन्तर्गत दोस्रो दिन पोखरा रंगशालामा एक खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ ।

दिउसो २ बजे मनाङ मर्स्याङदी क्लबले घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दैछ । ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा बसेको मनाङ शीर्ष स्थानमा बस्दै लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

छैटौ चरणमा मच्छिन्द्र फुटबल क्लबलाई नतिजा सुम्पिएपछि दोस्रो स्थानमा झरेको मनाङलाई ब्रिगेडमाथि सहज जित मात्र पनि एएफसी कप छनोट खेल्नका लागि पर्याप्त हुँदैन । १४ अंकका साथ शीर्ष स्थानमा बसेको मच्छिन्द्रले आइतबार नेपाल पुलिस क्लबविरुद्ध अंक बाँडेको अथवा हारको कामना गर्नुपर्नेछ । घरेलु मैदानमा  नेपाल पुलिस क्लवसँग पहिलो खेल खेलेको मनाङले  ३–१ को  जित हासिल गरेको थियो ।

उता दिउँसो १ बजे दशरथ रंगशालामा हुने ललितपुर डर्बीमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् । थ्री स्टार क्लब लगातारको जितविहिन यात्रामा पूर्णविराम लगाउ चाहन्छ । थ्री स्टार ६ खेलमा सात अंकसहित आठौं स्थानमा छ । थ्री स्टार जावलाखेलविरुद्ध तीन अंक जोड्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

थ्री स्टार पछिल्लो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । लिगमा लगातार चार खेल गुमाए पनि चौथो खेलबाट अंक खाता खोलेको जावलाखेल आफनो उत्कृष्ट लय कायम राख्न चाहन्छ । पाँचौ चरणमा च्यासल युथ क्लबलाई हराएको जावलाखेलले छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराएको थियो ।

अपरान्ह पौने ५ बजे दशरथ रंगशालामा हुने दिनको अन्तिम खेलमा संकटा क्लब च्यासलको सामना गर्दा अपराजित यात्रा निरन्तरता दिने लक्ष्यमा हुनेछ । संकटा ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथिको जितले संकटा दोस्रो स्थानमा उक्लिनेछ ।

१३औं स्थानको च्यासल भने संकटाविरुद्ध तीन अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button