
पाेखरा न्यूज । प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गर्नुभएकाे छ। चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभाेग गर्दै आउनु भएका राईकाे तीव्र आलाेचना भएपछि उहाँले अहिले आएर गाडी फिर्ता गर्नुभएकाे हाे ।
उहाँले काठमाडौंमा गाडी फिर्ता गरेकाे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गर्नुभयाे । ‘गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयाे,’ दाहालले भन्नुभयाे, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।’
मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवासुविधा राइले ४ महिना प्रयोग गर्नुभयाे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।
उहाँले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आउनु भएकाे थियाे।
राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खाेलिएकाे विषयमा चर्काे विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो ।
वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राख्नुभएकाे छ ।





