पोखरामा सडक महोत्सवमा मातेर गाडी चलाउँदा पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

६ वटा सवारीसाधनलाई ठक्कर

पोखरा न्यूज । पोखरामा रेवान पोखराले आयोजना गरेको सडक महोत्सवमा रक्सीले मातेर सवारीसाधन चलाउँदा एक पैदलयात्रीको मृत्यु भएको छ । घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

गए राति १ :३६ मा ग२च १११८ नम्बरको हाइलक्सले बगैंचामार्गमा ठक्कर दिँदा पैदल यात्री स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले पोखरा न्यूजलाई जानकारी दिनुभयो

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मेट्रो सिटी हस्पिटलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको डिएसपी तिवारीले बताउनुभयो ।

पोखरा लेखनाथका २९ वर्षीय चालक सुवास बिकले पोखरामा जारी सडक महोत्सवस्थलमा रक्सी सेवन गरी मातेर अन्धाधुन्ध गाडी चलाउँदा घटना घटेको डिएसपी तिवारीको भनाई छ ।

‘पोखरामा भइरहेको सडक महोत्सवमा चालक सुवासले मादक पदार्थ सेवन गरी पोखरा ६ को वडा कार्यालय नजिकैबाट शान्तिपाटनसम्म रेस्टलेस ड्राइभिङ गर्दा ६ वटा कार तथा ट्याक्सी र पैदल यात्रीलाई ठक्कर दिएपछि ठुलो दुर्घटना भएको हो’, डिएसपी तिवारीले भन्नुभयो ।

डिएसपी तिवारीका अनुसार दुर्घटनामा स्कुटर चालक पोखरा काहुँखोलाकी सरिना बराल गम्भीर घाइते हुनुभएको छ । उहाँको खुटा भाँचिएको अवस्थामा उपचार भइरहेको र अहिले अवस्था खतरामुक्त रहेको डिएसपी तिवारीले बताउनुभयो। हाइलक्सले अधिकांश सडक छेउमा पार्किङ गरेर राखेका कार तथा ट्याक्सीलाई सामान्य देखि ठुलो क्षति हुने गरी ठक्कर दिएको उहाँको भनाई छ ।

घटनामा संलग्न चालक सुवास र गाडीलाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।

बिहीबार मात्र पोखरामा सडक महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरालाई चौबिसै घण्टा खुलाउने बताइरहेका बेला शुक्रबार राति पोखरा जागै रहेको बेला यो घटना घट्नुले कास्की प्रहरी सुरक्षाको सवालमा कति सक्षम छ र पोखराका पर्यटन व्यवसायी कति जिम्मेवार छन् भन्नेमा गम्भीर प्रश्न चिन्ह उब्जिएको छ ।

पोखरा सडक महोत्सवमा रातिको समय खुला हुँदा वर्षेनी साना ठुला घटना घट्दै आएका छन् । महोत्सवस्थलमा बियरको बोतल प्रहार गरी दुर्घटना गराउँदा, वर्षेनी महोत्सवस्थलबाट मोटरसाइकल तथा स्कुटर चोरी हुँदा र मान्छेको ज्यानै जाने गरेर दुर्घटना हुँदासमेत महोत्सवको आयोजक रेवान पोखरा र कास्की प्रहरी मूकदर्शक बन्दै आएको छ ।

दुर्घटनाको विषयमा सडक महोत्सवको आयोजक रेवान पोखराका अध्यक्ष लक्ष्मण बराललाई सोध्दा यो सडक दुर्घटना भएको र महोत्सवस्थल भित्र नभएकाले सहानुभूति रहेको भए पनि आफूहरू जिम्मेवार नभएको बताउनुभयो । ‘हिजो कोमागाने पार्क भित्र २० हजार मान्छे थिए महोत्सव सकिएपछि सडकमा दुर्घटना भयो त्यसमा हाम्रो सहानुभूति रहे पनि महोत्सवस्थल भित्र घटना नभएकोले हामी जिम्मेवार होइनौ’ अध्यक्ष बरालले भन्नुभयो ।

यसअघि सडक महोत्सवका दौरान भएको बियरको बोतल प्रहारको घटना र मोटरसाइकल र स्कुटर चोरीका घटनाबारे आफू जानकार नरहेको भन्दै आयोजक कमिटीमै रहिरहेका बरालले गैह्र जिम्मेवार अभिव्यक्ति समेत दिनुभयो।

हेर्नुहोस्  सम्बन्धित खबर : सडक महोत्सवमा एक गम्भीर घाइते, मोटरसाइकल र स्कुटर गायब, प्रहरी पनि घाइते

पोखरा २४ घण्टा खुल्छ: गृहमन्त्री खाँण

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button