नाटकीय ढंगले उहाँको घट्दो तौललाई उहाँको स्वास्थ्यसँग पनि जोडिएको छ । तर, उहाँलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको उत्तर कोरियाली सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् ।
किमको ‘फिगर’ अहिले सुन्दर देखिएको र उहाँले ‘देश र जनताका लागि थोरै खान थालेको’ केसीएनएले दाबी गरेको छ ।
नयाँ वर्षको अवसरमा वर्कस पार्टीको नीति घोषणा गर्ने क्रममा उहाँको तस्विर सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय कमिटीको वैठकमा किम सार्वजनिक रुपमा देखिनुभएकाे थियाे । कोभिड लकडाउन, आणविक कार्यक्रमलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्धका कारण निम्तिएको शृंखलाबद्ध आर्थिक संकटबीच पार्टी वैठक आयोजना गरिएको थियो ।
राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस वर्ष मात्र उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यन्न अभाव छ । पार्टीले अभावसँग जुध्न सर्वसाधारणलाई आफै उत्पादन गर्न निर्देशन दिएको छ । चीनसँगको सीमा नखोल्ने बेलासम्म सरकारले यसै अक्टोबरमा सर्वसाधरणलाई थोरै खान उर्दी जारी गरेको थियो ।