
पाेखरा । पछिल्लो समय लोकप्रिय गन्तव्यको रुपमा विकसित हुँदै गईरहेको मर्दी हिमालमा समर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक सँस्थाको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक सँस्थाका सदस्य प्रभात अधिकारीका अनुसार यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको हो ।
नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अधिकारीले बताउनु भयाे । यो महोत्सवलाई ग्रेट हिमालयन स्की भ्रमण नाम दिईएको छ ।
महोत्सव सम्पन्न गर्न १६ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएएको छ । उक्त खर्च अन्तरगत सबैभन्दा बढी बिमामा छुट्टाईएको छ । महोत्सवमा भाग लिनेहरुको बिमाका लागि २ लाख २० हजार रुपैंया विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयाे ।
सँस्थाले मर्दीमा गर्न लागेको स्की महोत्सव आठौं चरणको हो । यस अघि मनास्लु, कालिञ्चोक लगायतका स्थानमा यो महोत्सव भईसकेको आयोजक सँस्थाका अध्यक्ष रामबहादुर थापाले बताउनु भयाे ।
अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले बताउनु भएकाे छ । महोत्सवले मर्दी हिमाल पदयात्रालाई झनै प्रचार प्रसार गर्ने गौतमले विश्वास व्यक्त गर्नुभएकाे छ । गौतम मर्दी हिमाल पदयात्रा मार्गका प्रवद्र्धक हुनुहुन्छ ।
महोत्सव अन्तरगत पदयात्रा, आधारभुत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धि बृत्तचित्रहरु प्रदर्शन गरिने अधिकारीले जानकारी दिनुभयाे ।
महोत्सवमा सबै क्षेत्रका मानिसहरुले भाग लिन पाउने जनाइएको छ । तर आयोजकले भने,पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय मानिहरु लाभान्वित हुने विश्वास गरिएको छ ।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले मर्दी हिमालमा हुने स्की महोत्सवले कोरोनाकालमा थलिएको पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएकाे छ ।





