पोखरामा पसलबाट सुनको गहना चोरेर महिला फरार (भिडियोसहित)

पोखरा न्यूज । पोखरामा जब कुनै घटना घट्छ, पीडित प्रहरीकोमा निवेदन दिन पुग्छन् । प्रहरीले सहज जवाफ दिन्छ ‘हामी उक्त क्षेत्रका सिसीटिभी फुटेजका आधारमा खोजतलास गरी अनुसन्धान गर्छौँ ।’

मोटरसाइकल, स्कुटर चोरीको घटना होस् अथवा सडकमा हुने हिट एण्ड रनका घटना हुन्, अधिकांश घटनामा कास्की प्रहरीको निष्कर्ष आउँछ ‘उक्त क्षेत्रमा सिसीटिभी फुटेज कतै भेटिएन ।’ यस्ता घटनामा संलग्न व्यक्ति महिनौँ देखि वर्षौँसम्म पत्ता लाग्दैनन् । पीडितले न्याय त पाउँदैन नै घटना घटाउनेको मनोबल बढेर थप घटना घटाउन उद्धत हुन्छन् । कतिपय यस्ता घटना पनि छन् जसमा पीडित आफैँले सिसीटिभी फुटेज लगेर प्रहरीकोमा बुझाउँदा समेत समयमा दोषी पत्ता लाग्दैन ।

यस्तै घटना पोखरा महानगरपालिका -५ जिरो किमि स्थित एक पसलमा घटेको छ । अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार (पुस १६ गते) झन्डै एक लाख मूल्य पर्ने सिक्री चोरी गरी महिला फरार भइन । दुकानका सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराए । घतानेले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे ।

तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले महिलालाई पक्राउ गर्न सकेन । सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजीमा हालेर फरार भएकी थिइन् । घटनाबारे सोध्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डिएसपी सुन्दर तिवारीले आफूलाई केही थाहा नभएको बताउनुभयो। कन्ट्रोलमा समेत बुझ्दै डिएसपी तिवारीले भन्नुभयो– ‘यस सम्बन्धमा हामीलाई कुनै पनि खबर छैन । कन्ट्रोलमा पनि खबर रहेनछ । सम्बन्धितले यदि खबर नगर्नुभएको हो भने गर्नुहोला ।’

यसै विषयमा  बैदाममा प्रहरी प्रमुख डिएसपी चिनीमाया तामाङसँग बुझ्दा वडामा निवेदन आएको बताउनुभयो । चोरी भएको निवेदन र सिसिटिभी फुटेजको आधारमा अनुसन्धान हुँदै गरेको उहाँको भनाई छ । तर कास्की प्रहरी प्रवक्ता तिवारी कै अनुसार उहाँ आफैँले र कन्ट्रोलले समेत थाहा नपाएको चोरीको घटनाको अनुसन्धान कसरी भइरहेको छ ? सहजै अनुमान लगाउन सकिन्छ ।

घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन । प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागेपछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button