
पाेखरा न्यूज । बुधबार राति अज्ञात समुहले धनुषाका एक पत्रकारकाे घरमा आगजनी गरेकाे छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य सुरेशकुमार यादवको धनुषाको चारनाथ नगरपालिका–५ स्थित घरमा बुधबार राति अज्ञात समुहले आगजनी गरेको हाे । साे घटनाकाे छानबिन गर्न नेपाल पत्रकार महासंघले माग गरेकाे छ ।
घटनाको छानबिन गरी जघन्य कार्यमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र आगजनीबाट भएको क्षतिको यकिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग महासंघले माग गरेकाे छ ।
यसैबीच महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले गरेको दुर्व्यवहारको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएकाे छ ।
महासंघ रौतहट शाखाका अनुसार एक पत्रिकाको अनलाइन दर्ता सम्बन्धमा पुस २१ गते बुधबार जिल्ला प्रशासन कार्यालय रौतहट पुग्नुभएका अध्यक्ष झालाई प्रमुख जिल्ला अधिकारीको अगाडि नै उहाँकै कार्यकक्षमा प्रशासकीय अधिकृत तिमल्सेनाले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीकै अगाडि अध्यक्ष झामाथि यस किसिमले दुर्व्यवहार हुनु अत्यन्त दुःखद् र निन्दनीय भएकाे भन्दै याे घटनाले पत्रकारको संवैधानिक मर्यादा र स्वतन्त्रतामा आघात पुगेको महासंघको ठहर गरेकाे छ । पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरिएकाे छ ।
महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै दुबै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएकाे छ ।





